काठमाडौं । त्रिपुरेश्वरमा यात्रुवाहक बस चालक अर्जुन दोङले आत्मदाह प्रयास गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन यातायात व्यवसायी तथा मजदुर संघसंस्थाहरूले माग गरेका छन्। मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले घटनामा ट्राफिक प्रहरीको भूमिका, व्यवहार र कार्यशैलीमाथि समेत छानबिन गर्न माग गरेका हुन्।
संघसंस्थाहरूका अनुसार असोज ५ गते मूलपानीबाट थानकोट भञ्ज्याङतर्फ जाँदै गरेको बा. ५ ख ४२७४ नम्बरको बस त्रिपुरेश्वरस्थित आँखा अस्पतालअगाडि पुग्दा मोटरसाइकलका कारण सडक अवरुद्ध भएपछि चालक दोङले हर्न बजाएका थिए। हर्न बजाएको विषयलाई लिएर ट्राफिक प्रहरीले बस रोकी कागजात मागेको, यात्रुहरूलाई ओरालेर करिब दुई घण्टासम्म बस नियन्त्रणमा राखेको र चालकलाई मानसिक दबाब तथा हैरानी दिएको उनीहरूको दाबी छ। बसलाई बग्गीखाना लैजान खोज्दा प्रतिवाद गरेका दोङले त्यसपछि आफ्नै शरीरमा आगो लगाएको विज्ञप्तिमा उल्लेख छ।
घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै संघसंस्थाहरूले मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था गर्न तथा जलेर क्षतिग्रस्त बसका धनीलाई समेत क्षतिपूर्ति दिन माग गरेका छन्। उनीहरूले सरोकारवालासहित न्यायिक छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कारबाही गर्न, यातायात श्रमिकलाई श्रम ऐनअनुसार रोजगार सम्झौता र सामाजिक सुरक्षामा आबद्ध गराउन तथा ट्राफिक प्रहरीबाट हुने दुर्व्यवहारविरुद्ध २४ घण्टे हेल्पलाइन र द्रुत सुनुवाइ संयन्त्र स्थापना गर्न माग गरेका छन्। माग पूरा नभए शान्तिपूर्ण तथा कानुनसम्मत रूपमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिँदै ६ वटा महासंघ तथा संघका अध्यक्ष सम्मिलित संयुक्त संघर्ष समिति गठन गरिएको छ।