काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ७.०६ अंकले बढेर २६५४ अंकमा पुगेको छ । बजारमा कारोबार रकमसमेत बढेको छ । अघिल्लो दिन ६ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएकोमा आज ७ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । आज अन्य समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ । उक्त समूहको सूचक १.३६ प्रतिशतले बढेको छ भने बैंकिङ ०.३५, विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.३१, लगानी ०.४८, जीवन बीमा ०.८२ र माइक्रोफाइनान्स समूह ०.४८ प्रतिशतले बढेका छन् । यस्तै, फाइनान्स ०.५२, जलविद्युत् ०.१४, उत्पादन तथा प्रशोधन ०.२४, निर्जीवन बीमा ०.०२ र व्यापार समूह ०.९३ प्रतिशतले घटेका छन् । आज १३७ कम्पनीको सेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो । बढ्ने कम्पनीतर्फ मिडसोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ । त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स ७.७५ प्रतिशत, मैलुङखोला जलविद्युत् ५.६३ प्रतिशत र मान्डु हाइड्रोपावर ५.४३ प्रतिशतले बढेका छन् ।