काठमाडौँ । हालैको बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचान गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले डीएनए परीक्षण सुरु गरेको छ। विपद्का बेला ठूलो संख्यामा मानिस हराएपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको फरेन्सिक ल्याबमा नमुनाको चाप बढेको भन्दै नास्टलाई पनि परीक्षणमा सहभागी गराइएको हो।
नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा. रामचन्द्र पौडेलका अनुसार शवको डीएनए परीक्षण गर्ने वैधानिक अधिकार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको फरेन्सिक ल्याबलाई मात्र छ। सुरुमा विपद् व्यवस्थापन प्राधिकरणले सङ्कलित नमुना ती दुई निकायमा पठाउने निर्णय गरेको थियो। तर, ठूलो संख्यामा नमुना परीक्षण गर्नुपर्ने भएपछि छिटो काम सम्पन्न गर्न नास्टलाई पनि परीक्षण प्रक्रियामा समावेश गरिएको हो।नास्टमा चीन सरकारको सहयोगमा प्राप्त उपकरण जडान गरी चिनियाँ विशेषज्ञको सहकार्यमा डीएनए परीक्षण भइरहेको छ। नास्टका वैज्ञानिकहरूले चिनियाँ विशेषज्ञबाट तालिम लिँदै नमुनाबाट डीएनए डाटा निकाल्ने काम गरिरहेका छन्। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा आएका हड्डी र दाँतका नमुनामध्ये केही हिस्सा परीक्षणका लागि नास्टमा पठाइने गरिएको छ। नास्टले हालसम्म प्रहरीलगायत विभिन्न निकायबाट ८०७ वटा नमुना प्राप्त गरिसकेको जनाएको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नास्टको प्रयोगशाला नेपालमै डीएनए परीक्षण गर्ने ठूलो प्रयोगशालामध्ये एक रहेको बताएका छन्। विधि विज्ञान प्रयोगशाला र प्रहरीको फरेन्सिक ल्याबमा नमुना परीक्षणको चाप रहेकाले थप नमुना नास्टमा ल्याउन आफूले समन्वय गर्ने उनले बताए। बाढीमा परिवारका सदस्य गुमाएका तथा बेपत्ता भएका परिवारलाई पहिचान गराउन डीएनए परीक्षण महत्वपूर्ण हुने उनको भनाइ छ।नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ विशेषज्ञ, उपकरण र सहकार्यका कारण परीक्षणको काम सकारात्मक रूपमा अघि बढिरहेको बताएका छन्। विपद्मा परेकाहरूको सहयोग र बेपत्ता व्यक्तिको पहिचानका लागि चीनले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता उनले जनाएका छन्।नास्टले परीक्षणपछि प्राप्त डीएनए डाटा विश्लेषणका लागि पुनः फरेन्सिक ल्याबमा पठाउने गरेको छ। भविष्यमा पनि यस्ता दीर्घकालीन तथा विपद्सँग सम्बन्धित काममा आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको नास्टले जनाएको छ।