न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट समाधानका लागि हरितगृह ग्यास उत्सर्जन कटौतीसँगै जलवायु न्याय र विकासशील मुलुकका लागि पर्याप्त वित्तीय सहयोग आवश्यक रहेको बताएका छन् । आफ्नो कार्यकालको अन्तिम जलवायु शिखर सम्मेलनका क्रममा बोल्दै उनले जीवाश्म इन्धन उद्योगले वातावरणलाई ‘खुला ढल’ जस्तो व्यवहार गरिरहेको आरोप लगाउँदै तत्काल प्रभावकारी कदम चाल्न आह्वान गरे । गुटेरेसले रुसले युक्रेनमा आक्रमण गरेयता पाँच प्रमुख पश्चिमी तेल कम्पनीले करिब पाँच खर्ब अमेरिकी डलर नाफा कमाएको उल्लेख गर्दै विकासशील देशलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न परिचालन गरिएको जलवायु वित्त करिब ३४ अर्ब डलर मात्र रहेको बताए । जलवायु परिवर्तनका कारण युरोपमा बढ्दो गर्मी र डढेलोदेखि नेपाल तथा तिब्बतमा हिमनदी पग्लिएर आएको विनाशकारी बाढीसम्मका घटना बढिरहेका बेला उनको यस्तो भनाइ आएको हो । कार्यक्रममा अर्थतन्त्रलाई हरित बनाउने, उत्सर्जन घटाउने तथा विकासशील मुलुकलाई जलवायु लक्ष्य पूरा गर्न र जलवायुजन्य जोखिम सामना गर्न आवश्यक वित्त जुटाउने विषयमा जोड दिइनेछ । टर्की र अस्ट्रेलियाले आगामी नोभेम्बरमा कोप–३१ जलवायु सम्मेलन सहआयोजना गर्दैछन् । यसैबीच, जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालका लागि जलवायु वित्त तथा क्षति र नोक्सानी कोष महत्त्वपूर्ण विषय बन्ने देखिएको छ । नेपालका विदेशमन्त्री शिशिर खनालले न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने तर जलवायु जोखिममा रहेका देशका लागि आर्थिक सहयोग परोपकार नभई कानुनी तथा नैतिक दायित्व भएको बताएका छन् ।