जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढेकोमा सांसद झाको स्वागत

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढेकोमा सांसद झाको स्वागत

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रका रूपमा घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले गत वर्षको चुनावी अभियानका क्रममा गरिएको प्रतिबद्धताअनुसार जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढेकोमा सरकारप्रति आभार व्यक्त गरे।

सांसद झाले चुनावी अभियानका क्रममा आफूहरूले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता जनाएको स्मरण गर्दै मन्त्रिपरिषद्को पछिल्लो निर्णय त्यसतर्फको महत्वपूर्ण कदम भएको बताए। उनले सरकारको कामकारबाहीमा पछिल्लो समय देखिएको तदारुकताको समेत प्रशंसा गरे।झाले विशेषगरी कृष्णभीरको सडक १२ दिनमै सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देखाएको सक्रियता सराहनीय रहेको बताए। उनले सरकारले देखाएको यस्तो कार्यगतिशीलता अन्य विकास आयोजना तथा सार्वजनिक सेवाका क्षेत्रमा पनि आवश्यक रहेको धारणा राखे।

यसैबीच, सांसद झाले मुलुकका विभिन्न स्थानमा रहेका बाढीपीडितका अस्थायी शिविरको अवस्थाप्रति समेत चिन्ता व्यक्त गरेका छन्। शिविरमा बसोबास गरिरहेका महिला तथा बालबालिकाको सुरक्षा संवेदनशीलता बढेको उल्लेख गर्दै उनले सरकारको ध्यानाकर्षण गराए। असुरक्षित वातावरणका कारण बाढीपीडित थप समस्यामा परेको भन्दै झाले उनीहरूको सुरक्षा र व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरे।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार