काठमाडौँ । गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूको पहिचानमा सहयोग गर्न भारतीय फोरेन्सिक टोलीले काठमाडौँका दुई प्रयोगशालामा करिब १ हजार २०० डीएनए नमुनाको परीक्षण गरिरहेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार विपद्मा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिहरूको पहिचान स्थापित गर्न डीएनए परीक्षणको काम भइरहेको हो।
भारतीय विदेश मन्त्रालयका अनुसार प्राकृतिक विपद्का कारण अझै २७५ जना भारतीय नागरिक बेपत्ता छन् भने १६९ जनाको सफल उद्धार गरिएको छ। बेपत्ता नागरिकको सङ्ख्यामा विपद् प्रभावित क्षेत्रमा पर्ने चिनियाँ भूभागमा बेपत्ता भएका ४९ जना भारतीय नागरिकसमेत समावेश रहेको प्रवक्ता जयसवालले स्पष्ट पारेका छन्।भारतले नेपालमा उद्धार तथा राहत कार्यका लागि फोरेन्सिक टोलीसँगै सुरुङ उद्धार टोलीसमेत परिचालन गरेको जनाएको छ। कठिन पहुँच भएका क्षेत्रमा स्थानीय अधिकारीलाई सहयोग गर्न विशेष टोलीहरू खटाइएको बताइएको छ। साथै, भारतले हालसम्म सातवटा विमानमार्फत ९५ टन राहत सामग्री नेपाल पठाइसकेको र थप सामग्री पठाउने तयारी गरिरहेको जनाएको छ।
भारतले नेपाललाई निकट छिमेकी तथा मित्रका रूपमा तत्काल सहयोग उपलब्ध गराएको र राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा आवश्यकताअनुसार निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। डीएनए परीक्षण, उद्धार तथा राहत कार्यलाई तीव्रता दिँदै विपद्बाट प्रभावित तथा बेपत्ता व्यक्तिहरूको पहिचान र खोजी कार्यलाई अघि बढाइएको छ।