काठमाडौँ । बङ्गालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ पछिल्लो छ घण्टामा १२ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिमतर्फ अघि बढिरहेको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान ५:३० बजे उक्त प्रणाली आन्ध्र प्रदेशको कलिङ्गपट्टनमबाट करिब ७० किलोमिटर टाढा समुद्रमा अवस्थित थियो। यो प्रणाली बुधबार रातिसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटबीच पर्ने कलिङ्गपट्टनम नजिकबाट स्थलतर्फ प्रवेश गर्ने सम्भावना रहेको विभागले जनाएको छ। समुद्रमा बन्ने न्यून वायुमण्डलीय चापको शक्तिशाली अवस्था ‘डीप डिप्रेसन’ तीव्र हावाहुरी र भारी वर्षासहित अघि बढ्ने गर्छ।
यसैबीच, भारतका विभिन्न राज्यमा मौसमको प्रभाव देखिन थालेको छ। मध्य प्रदेशका छिन्दवाडा, सिवनी र बालाघाटमा बुधबार भारी वर्षाको चेतावनी दिइएको छ भने बिहारका सबै ३८ जिल्लामा वर्षाको सम्भावनालाई ध्यानमा राख्दै पहेँलो सतर्कता जारी गरिएको छ। अर्कोतर्फ राजस्थानमा भने वर्षा रोकिएपछि तापक्रम बढेको छ। जेसलमेरमा ४१ डिग्री सेल्सियस तथा बीकानेर र बाडमेरमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ। सेप्टेम्बरमै मे महिनाजस्तै उखरमाउलो गर्मी महसुस भइरहेका बेला राजस्थानमा आगामी चारदेखि पाँच दिन मौसम सुक्खा रहने र गर्मी अझ बढ्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ।