काठमाडौँ । नेकपा (एमाले) की केन्द्रीय सदस्य पार्वती विशुङ्खेले पार्टी चुनावी गणितमा मात्र नभई राजनीतिक रूपमै पराजित भएको भन्दै नेतृत्वको कार्यशैलीमाथि गम्भीर आत्मसमीक्षा गर्न माग गरेकी छन्। तीन दिनदेखि जारी केन्द्रीय कमिटीको बैठकमा बुधबार धारणा राख्दै उनले पार्टीभित्र बढ्दै गएको ‘म वाद’ र व्यक्तिवादी सोचले संगठनलाई कमजोर बनाउने चेतावनी दिइन्।पार्टी अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनप्रति टिप्पणी गर्दै विशुङ्खेले युग, समाज र जनताको मनोविज्ञान परिवर्तन भए पनि पार्टीको सोच र कार्यशैलीमा अपेक्षित परिवर्तन आउन नसकेको बताइन्। उनले समयअनुसार आफूलाई परिवर्तन गर्न नसक्ने सोचले पार्टीलाई गन्तव्यमा पुर्याउन नसक्ने भन्दै कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिइन्।
उनले निर्वाचनमा हार–जितलाई स्वाभाविक रूपमा लिन सकिए पनि एमाले राजनीतिमै पछाडि परेको दाबी गरिन्। निर्वाचन हारेपछि पुनः जित्न सकिने भए पनि राजनीतिक रूपमा पराजित भएपछि पुनः उठ्न कठिन हुने भन्दै उनले निर्वाचन परिणामसँगै पार्टीको राजनीतिक कार्यशैली, जनसम्बन्ध र संगठन सञ्चालनको गम्भीर समीक्षा आवश्यक रहेको बताइन्।कम्युनिस्ट पार्टीले व्यक्ति वा नेतृत्वलाई भन्दा देश, पार्टी र समाजलाई केन्द्रमा राख्नुपर्ने उल्लेख गर्दै विशुङ्खेले पार्टीभित्र सामूहिक भावना कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरिन्। आफूलाई सर्वेसर्वा ठान्ने र अरूलाई तल्लो दर्जामा राख्ने प्रवृत्ति बढेको भए त्यसबारे प्रत्येक नेताले आत्मचिन्तन गर्नुपर्ने उनको भनाइ थियो।विशुङ्खेले पार्टी सचिवालयले निर्वाचन समीक्षा र पुनर्गठनका लागि गठन गरेको कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गरी खुला र तथ्यपरक छलफल गर्नुपर्ने माग पनि राखिन्। कम्युनिस्ट पार्टीभित्र आलोचना र आत्मालोचनालाई स्वाभाविक प्रक्रियाका रूपमा स्वीकार गर्नुपर्ने भन्दै उनले सामूहिक छलफलमार्फत पार्टी विधि, पद्धति र सहकार्यबाट अघि बढिरहेको सन्देश दिनुपर्ने बताइन्।
पार्टी सधैँ षड्यन्त्र र प्रतिशोधको भाष्यमा मात्र अल्झिन नहुने उनको भनाइ थियो। पुराना विषयमा मात्र बहस गरेर राजनीतिक गन्तव्य हासिल गर्न नसकिने भन्दै उनले अल्पमतको कदर र बहुमतको निर्णयलाई संस्थागत गर्दै सबैले अपनत्व महसुस गर्ने संगठन निर्माण गर्नुपर्नेमा जोड दिइन्।युवा नेतृत्वको विषयमा पनि विशुङ्खेले पार्टीको ध्यानाकर्षण गराइन्। अन्य राजनीतिक शक्तिहरूमा ३५ देखि ५० वर्ष उमेर समूहका युवाहरूले पार्टी तथा सरकार सञ्चालन गरिरहेको सन्दर्भ उल्लेख गर्दै उनले एमालेले पनि प्रतिस्पर्धी युवा नेतृत्व तयार गर्नुपर्ने बताइन्। त्यसो गर्न नसके आगामी निर्वाचनमा पार्टीले थप चुनौती सामना गर्नुपर्ने उनको दाबी थियो।उनले युवा, महिला, दलित, भुइँमान्छे, किसान, मजदुर, उद्यमी तथा प्रविधिमैत्री पुस्तासँग पार्टीले नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड दिइन्। उनका अनुसार बदलिँदो सामाजिक र राजनीतिक परिवेशअनुसार पार्टीको संगठनात्मक शैली, नेतृत्व विकास र जनसम्बन्धमा समेत नयाँपन आवश्यक छ।