काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’को संयुक्त राष्ट्रसङ्घीय महासभा भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले असन्तुष्टि व्यक्त गरेको छ। भ्रमणमा निस्कनुअघि संसद्मा सम्बोधन गर्नुपर्ने तथा सर्वदलीय परामर्श लिनुपर्ने विगतको परम्परालाई प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रश्न उठाएका हुन्।संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले प्रधानमन्त्रीको विदेश भ्रमण राष्ट्रिय गौरव र पहिचानसँग जोडिने भएकाले त्यसका लागि व्यापक गृहकार्य आवश्यक पर्ने बताए। राष्ट्रिय मुद्दामा साझा धारणा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुँदा नेपालको कूटनीतिक प्रभाव र कद बढ्ने उनको भनाइ थियो। प्रधानमन्त्रीले सर्वदलीय परामर्श तथा पूर्वप्रधानमन्त्रीहरूसँग अनुभव आदानप्रदान नगरी एकलौटी रूपमा भ्रमणमा जानु कूटनीतिक कमजोरी भएको उनले टिप्पणी गरे।
प्रधानमन्त्रीले राष्ट्रिय सलामी नलिएको प्रसङ्गमा दुलालले त्रिशूली बाढीका कारण घोषित शोकको सम्मानमा यस्तो गरिएको भए त्यसलाई स्वाभाविक रूपमा लिन सकिने बताए। यद्यपि, राष्ट्रिय पहिचानसँग जोडिएका यस्ता प्रोटोकल परम्परागत र महत्त्वपूर्ण हुने उनको धारणा थियो। अर्कोतर्फ, विगतको तुलनामा यसपटक प्रधानमन्त्रीको भ्रमण टोलीको सङ्ख्या घटाइएको विषयलाई भने उनले सकारात्मक रूपमा लिनुपर्ने बताए।दुलालले संयुक्त राष्ट्रसङ्घीय महासभाका क्रममा हुने ‘साइडलाइन’ द्विपक्षीय वार्ताको महत्त्वसमेत औँल्याए। नेपालका प्रमुख विकास साझेदार मुलुकसँग यस्ता भेटवार्ता तय नहुनु कमजोर कूटनीतिक तयारीको परिणाम हुन सक्ने उनको भनाइ थियो। उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको हित र प्राथमिकताका विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न पर्याप्त कूटनीतिक गृहकार्य आवश्यक रहेको बताए।
त्यस्तै, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका प्राकृतिक विपत्ति तथा ‘क्लाइमेट जस्टिस’ अर्थात् जलवायु न्यायको मुद्दालाई संयुक्त राष्ट्रसङ्घीय मञ्चमा प्रधानमन्त्रीले सशक्त रूपमा उठाउनुपर्नेमा दुलालले जोड दिएका छन्।