सल्यानको दार्मामा स्क्रब टाइफस संक्रमण फैलिएको भन्दै सरकारको ध्यानाकर्षण

सल्यानको दार्मामा स्क्रब टाइफस संक्रमण फैलिएको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस संक्रमण फैलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले पछिल्लो एक महिनामा स्क्रब टाइफस संक्रमणका कारण अस्पतालमा उपचाररत सात जनाको मृत्यु भएको दाबी गरे। संक्रमण तीव्र रूपमा बढिरहेको भए पनि स्थानीय स्वास्थ्य संस्थामा परीक्षण किटको चरम अभाव रहेको उनले बताए।

स्वास्थ्य मन्त्रालयले भने स्क्रब टाइफससहित सम्भावित संक्रामक रोगको समयमै पहिचान तथा उपचारका लागि जोखिमयुक्त क्षेत्रमा द्रुत परीक्षण किट वितरण र आवश्यक व्यवस्थापन गरिरहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मनसुन तथा संक्रमणको सम्भावित जोखिम सुरु हुनुअघि नै स्वास्थ्यकर्मीलाई अभिमुखीकरण, औषधि तथा परीक्षण किटको व्यवस्थापन र स्थानीय तहसम्म आकस्मिक बजेटको व्यवस्था गरिएको छ।

डा. अधिकारीले दार्मामा देखिएको घटनाको विस्तृत अध्ययन तथा संक्रमणको पुष्टि हुन बाँकी रहेको बताए। मनसुनका समयमा अन्य कारणले पनि ज्वरो आउन सक्ने भएकाले बिरामीले समयमै स्वास्थ्य परीक्षण र उपचार गराउनुपर्ने उनको भनाइ छ। ज्वरो आएलगत्तै नजिकको स्वास्थ्य संस्थामा गएर परीक्षण तथा उपचार गराएमा स्क्रब टाइफसबाट हुने जटिलता र मृत्युको जोखिम कम गर्न सकिने मन्त्रालयले जनाएको छ।संक्रमण थप फैलिन नदिन स्वास्थ्य मन्त्रालयले सम्बन्धित प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय तहसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ। कुनै क्षेत्रमा अचानक ज्वरोका बिरामी बढेमा वा शंकास्पद घटना देखिएमा तत्काल परिचालन हुने गरी द्रुत प्रतिकार्य टोलीलाई उच्च सतर्कतामा राखिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार