काठमाडौँ । काठमाडौँ मोडेल माध्यमिक विद्यालय (केएमसी) बागबजारले भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगार्थ २३ लाख ७० हजार ३१६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
विद्यालय तथा कलेजका विद्यार्थी कमिटीका प्रतिनिधिमार्फत नेपाल सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेललाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो। विद्यालयका अनुसार कुल सहयोग रकममध्ये विद्यालय तथा कलेजको संस्थागततर्फबाट १५ लाख ३३ हजार ३३३ रुपैयाँ, शिक्षक तथा कर्मचारीबाट ५ लाख ७५ हजार ७४७ रुपैयाँ र विद्यार्थीबाट २ लाख ५८ हजार २५० रुपैयाँ संकलन गरिएको हो।
यसैबीच, बाढीमा परी आफ्ना अभिभावक गुमाएका विद्यालयका चार जना विद्यार्थीलाई विद्यार्थी समितिका तर्फबाट जनही ५१ हजार रुपैयाँका दरले आर्थिक सहयोगसमेत गरिएको विद्यालयले जनाएको छ। उक्त रकम विद्यार्थीबाट सङ्कलित सहयोग तथा विद्यार्थी समितिको कोषबाट उपलब्ध गराइएको हो।
प्राकृतिक विपद्बाट सिर्जित मानवीय पीडा न्यूनीकरणका लागि सबैको साझा सहयोग आवश्यक रहेको भन्दै विद्यालय तथा कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ। विद्यालय तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं शैक्षिक नेतृत्व रामेश्वर अर्यालले बाढीबाट भएको क्षति कुनै निश्चित स्थान, समुदाय वा व्यक्तिको मात्र समस्या नभई समग्र मानव समुदायलाई संवेदनशील बनाउने विषय भएकाले विद्यालयले आफूले सक्ने सहयोग विद्यार्थीमार्फत गरेको बताए।
“यो विपद् कुनै निश्चित ठाउँ, समुदाय वा व्यक्तिको मात्र नभई मानव जातिमाथि आएको पीडा हो। यस्तो अवस्थामा आफूले सकेको सहयोग गर्नु हामी सबैको साझा दायित्व हो। त्यसैले विद्यालय र कलेज परिवारको सामूहिक सहभागितामा सहयोग रकम उपलब्ध गराएका हौँ,” अर्यालले भने।
सहयोग हस्तान्तरणमा संस्थापक, प्राचार्य वा संस्थाको उच्च तहमा रहेका व्यक्तिलाई अघि नसारी विद्यार्थीलाई प्रतिनिधिका रूपमा अघि बढाउनुको उद्देश्य विद्यार्थीमा सहयोग र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नु रहेको अर्यालले बताए। उनका अनुसार कुनै पनि शैक्षिक संस्थाका लागि विद्यार्थी सबैभन्दा महत्त्वपूर्ण पक्ष हुन् र विपद्को अवस्थामा आफ्नै केही विद्यार्थीले समेत अभिभावक गुमाएको अवस्थामा उनीहरूको भावना र संवेदनालाई सम्बोधन गर्नु आवश्यक छ।
केएमसीले तत्कालीन राहतमा मात्र सीमित नभई बाढीबाट प्रभावित क्षेत्रमा दीर्घकालीन शैक्षिक सहयोग गर्ने योजना पनि अघि सारेको जनाएको छ। बाढीका कारण क्षतिग्रस्त तथा भत्किएका शैक्षिक संरचनाको पुनर्निर्माणमा भौतिक सहयोग गर्नुका साथै प्रभावित विद्यार्थी तथा समुदायलाई शैक्षिक रूपमा सबल बनाउन मनोसामाजिक परामर्श, शिक्षक आदानप्रदानलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको केएमसी कलेजका कलेज चिफ सुरेन्द्र सुवेदीले जानकारी दिए।
उनका अनुसार विपद्पछिको पुनःस्थापना भौतिक संरचना निर्माणमा मात्र सीमित नभई प्रभावित विद्यार्थीको मनोबल उकास्ने र उनीहरूको शैक्षिक निरन्तरताका लागि आवश्यक वातावरण निर्माण गर्ने विषय पनि हो। त्यसैले भौतिक सहयोगसँगै मनोसामाजिक परामर्श र शिक्षक आदानप्रदानजस्ता कार्यक्रममार्फत दीर्घकालीन सहयोग गर्ने योजना रहेको उनले बताए।
विद्यालय तथा कलेजले बाढीबाट प्रत्यक्ष प्रभावित आफ्ना विद्यार्थीको पठनपाठनमा समेत आवश्यक सहयोग तथा सहजीकरण गर्ने जनाएको छ। विपद्का कारण अध्ययनमा परेको असर न्यूनीकरण गर्दै प्रभावित विद्यार्थीलाई नियमित शैक्षिक गतिविधिमा सहज रूपमा फर्काउन आवश्यक सहयोग गरिने विद्यालयले जनाएको हो।
अन्य शैक्षिक संस्थाका संस्थापक, निर्देशक, प्राचार्य तथा उच्च पदस्थ व्यक्तिहरू स्वयं उपस्थित भएर सहयोग रकम हस्तान्तरण गरिरहेको सन्दर्भमा केएमसीले भने विद्यार्थीलाई प्रतिनिधिका रूपमा अघि सारेर सहयोग उपलब्ध गराउनु सकारात्मक अभ्यास भएको एक अभिभावकले बताए। विद्यार्थीलाई सहयोग प्राप्त गर्ने पात्रका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने जिम्मेवार नागरिकका रूपमा अघि सार्दा उनीहरूमा सहयोग, संवेदना र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न मद्दत पुग्ने उनको भनाइ छ।
काठमाडौँ मोडेल माध्यमिक विद्यालय तथा कलेजले विभिन्न प्राकृतिक विपद् तथा सामाजिक सङ्कटका समयमा राहत, उद्धार र सामाजिक सहयोगका गतिविधिमा सहभागिता जनाउँदै आएको छ। पछिल्लो सहयोगलाई पनि विद्यालय तथा कलेजले तत्कालीन राहतसँगै दीर्घकालीन शैक्षिक पुनःस्थापनामा योगदान पुर्याउने अभियानका रूपमा अघि बढाउने जनाएको छ।