काठमाडौं । कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई गाडी नियन्त्रणमा लिएको विषयलाई लिएर धम्क्याएको भनिएको प्रकरण संसद्मा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले प्रतिनिधिसभाको बैठकमा उक्त विषय उठाउँदै भन्सार अधिकृतले अत्यन्तै तल्लो स्तरको धम्कीपूर्ण भाषा प्रयोग गरेको विषय बाहिर आएको बताइन्।
सांसद संग्रौलाले ती कर्मचारीले आफ्ना विभागीय महानिर्देशक, सशस्त्र प्रहरी महानिरीक्षक र गृहमन्त्रीसमेतलाई ‘स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसको आशयबारे प्रश्न गरिन्। ‘स्वाट्टै हान्छु’ भन्नाले फोन गर्ने, प्रत्यक्ष भेटेर आक्रमण गर्ने वा पद नै हटाउने भन्ने आशय हो भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ थियो।
उनले एउटा भन्सार अधिकृतले गृहमन्त्रीलाई समेत ‘हान्ने’ क्षमता राख्छ भने संसद् र राज्य संयन्त्रको भूमिकामाथि नै प्रश्न उठ्ने बताइन्। यस घटनाले सिंगो राज्य संयन्त्रको छविमा असर पार्ने भन्दै संग्रौलाले कथित अडियो प्रकरणको छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरिन्।