मकवानपुर। जल तथा मौसम विभागले केही दिन भारी वर्षा हुने प्रक्षेपण गरेपछि मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत् आयोजना तथा बाढीको जोखिममा पर्न सक्ने सम्भावित क्षेत्रमा सतर्कता बढाइएको छ। सम्भावित बाढीको जोखिम न्यूनीकरणका लागि मकवानपुर प्रशासनले कुलेखानी क्षेत्रमा तीन स्थानमा साइरन जडान गरेको हो। कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रल्हाद राउतका अनुसार जलाशयको बाँध, सिस्नेरी प्रहरीचौकी र इन्द्रसरोवर गाउँपालिका कार्यालयमा साइरन जडान गरिएको छ। निरन्तर वर्षाका कारण जलसतह बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै साइरनमार्फत स्थानीय बासिन्दालाई समयमै सचेत गराउने व्यवस्था गरिएको हो।
राउतका अनुसार इन्द्रसरोवर जलाशयको जलसतह हाल सामान्य अवस्थामा रहे पनि १ हजार ५२२.२५ मिटर पुगेको छ। जलसतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनी साइरन बजाइनेछ भने १ हजार ५२८ मिटर पुगेपछि दोस्रो तथा केही लामो साइरन बजाइनेछ। सोभन्दा माथि जलसतह बढेमा निरन्तर लामो समयसम्म साइरन बजाइने र साइरनको सङ्केतअनुसार सर्वसाधारणले आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्ने बताइएको छ। सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बुधबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा टोलीले जलाशय क्षेत्रको स्थलगत निरीक्षण गरी सरोकारवालासँग छलफलसमेत गरेको थियो। भारी वर्षाको प्रक्षेपण भएका कारण प्रशासनले मकवानपुरका सबै नागरिकलाई आ–आफ्नो स्थानबाट आवश्यक सावधानी र सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। हेटौँडा तथा आसपासका क्षेत्रमा बिहानदेखि निरन्तर वर्षा भइरहेको छ।