इन्द्रजात्राका गतिविधि अब मोबाइल एपमै, रथयात्रादेखि ट्राफिक अवस्थासम्मको जानकारी

इन्द्रजात्राका गतिविधि अब मोबाइल एपमै, रथयात्रादेखि ट्राफिक अवस्थासम्मको जानकारी

काठमाडौँ । ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका सम्पूर्ण गतिविधिबारे अब मोबाइल एपमार्फत जानकारी लिन सकिने भएको छ। काठमाडौँ महानगरपालिका र ‘गल्ली म्याप’को सहकार्यमा इन्द्रजात्राका कार्यक्रम, रथयात्राको रुट तथा ट्राफिक अवस्थाबारे मोबाइलबाटै जानकारी लिन सकिने व्यवस्था गरिएको हो।

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘गल्ली म्याप’मार्फत इन्द्रजात्राका सम्पूर्ण विवरण सर्वसाधारणले सहज रूपमा प्राप्त गर्न सक्ने बताइन्।

इन्द्रजात्राका क्रममा ३१ वटा परम्परागत गुठीसहित विभिन्न क्लब, सङ्घसंस्था तथा सांस्कृतिक समूहको सहभागिता रहने भएकाले जात्राका गतिविधि उपत्यकाका विभिन्न स्थानमा एकैसाथ सञ्चालन हुने गर्छन्। एपमा श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्राका साथै लाखे, पुलुकिसी, श्वेतभैरव, दश अवतारलगायत सांस्कृतिक नाच तथा झाँकीको समय र स्थानबारे जानकारी उपलब्ध हुनेछ।

“गल्ली म्यापसँग हामीले सहकार्य गरेको यो चौथो पटक हो,” कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, “इन्द्रजात्रा धेरै पक्ष र गतिविधि समेटिएको ठूलो स्ट्रिट फेस्टिभलजस्तै हुन्छ। तर ती गतिविधि कहाँ र कहिले भइरहेका छन् भन्ने कुरा धेरैलाई थाहा हुँदैनथ्यो।”

उनका अनुसार विगतमा दर्शकहरू कुनै चोकमा बसेर रथ वा लाखे आउने समय कुर्नुपर्ने अवस्था थियो। रथयात्रा कुन रुटमा छ वा कहाँ पुगिसकेको छ भन्ने जानकारी सहजै नपाइने समस्या अब एपमार्फत समाधान हुने अपेक्षा गरिएको छ।

यस वर्ष एपमा ट्राफिक व्यवस्थापनसम्बन्धी विवरण समेत थप गरिएको छ। जात्राका कारण प्रभावित हुने सडक, सम्भावित ट्राफिक जाम तथा वैकल्पिक मार्गबारे एपबाट जानकारी लिन सकिनेछ। साथै, जात्रा अवलोकन गर्न आउने नागरिकका लागि खानेपानी पाइने स्थान र सार्वजनिक शौचालयको अवस्थिति समेत नक्सामा समावेश गरिएको छ।

प्रविधिको प्रयोगले समय अभाव भएका दर्शकलाई समेत आफ्नो रुचिअनुसारका सांस्कृतिक गतिविधि छनोट गरी अवलोकन गर्न सहज हुने महानगरपालिकाले जनाएको छ।

कार्यक्रममा ‘गल्ली म्याप’का सह-संस्थापक रामविक्रम महर्जनले तयार पारिएको नयाँ मोबाइल एप कार्यवाहक प्रमुख डङ्गोललाई हस्तान्तरण गर्दै एपका प्राविधिक विशेषताबारे जानकारी गराएका थिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार