काठमाडौं । वर्षाका कारण सिस्डोलस्थित ल्याण्डफिल्ड साइटमा लेदोसहितको पानी बग्न थालेपछि काठमाडौं महानगरपालिकाले फोहोर ढुवानी तथा बिसर्जनको काम अस्थायी रूपमा रोकेको छ। महानगरपालिकाले ल्याण्डफिल्ड साइटको अवस्था सामान्य नभएसम्म घर, पसल तथा व्यवसायबाट फोहोर बाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको छ। महानगरले फोहोर सडक, चोक, सार्वजनिक स्थल, खोला–नाला तथा खुला स्थानमा नफाल्नसमेत अनुरोध गरेको छ। वर्षा तथा ल्याण्डफिल्ड साइटको अवस्था सामान्य भएपछि फोहोर संकलन र ढुवानीको काम नियमित गरिने महानगरपालिकाले जनाएको छ।