काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ। आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको हो। अफगानिस्तानका लागि फेसल शिनोजादाले सर्वाधिक ३३ रन बनाउँदा नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन बनाए। नेपालका लागि कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए।
नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ। यसअघि बिहीबार भएको खेलमा अफगानिस्तानले जापानलाई पराजित गरिसकेको छ। समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। क्वार्टरफाइनलमा पुगेमा नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यसअघिको एसियन गेम्समा पनि नेपाल क्वार्टरफाइनलमा भारतसँग पराजित भएको थियो।