हुथी आक्रमणपछि तेलको मूल्यमा उछाल, ब्रेन्ट क्रुड १०८ डलरसम्म

हुथी आक्रमणपछि तेलको मूल्यमा उछाल, ब्रेन्ट क्रुड १०८ डलरसम्म

काठमाडौँ । यमनका हुथी विद्रोहीले साउदी अरबको राज्यनियन्त्रित ऊर्जा कम्पनी ‘अरामको’ का संरचनासहित विभिन्न स्थानमा पुनः आक्रमण गरेको दाबी गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण यसअघि नै प्रभावित बनेको इन्धन आपूर्तिमा थप अवरोध आउन सक्ने आशंकाबीच बिहीबार विश्वव्यापी मानक मानिने ‘ब्रेन्ट क्रुड’को मूल्य ३ प्रतिशतभन्दा बढीले बढेको हो।

नोभेम्बरका लागि तय गरिएको ब्रेन्ट फ्युचर्सको मूल्य बिहीबार प्रतिब्यारल १०८ अमेरिकी डलरसम्म पुगेको थियो। पछि यो १०६.५० डलरभन्दा माथि बन्द भएको थियो। एसियाली बजारमा शुक्रबार बिहान भने मूल्य केही घटेर प्रतिब्यारल १०५.७७ डलरमा कारोबार भएको छ।

हुथी समूहले रियादस्थित संवेदनशील क्षेत्र तथा लाल सागर किनारको यान्बुमा रहेको अरामकोका संरचनालाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ। हुथी सञ्चालित समाचार एजेन्सीका अनुसार दुवै आक्रमण सफलतापूर्वक सम्पन्न भएका थिए।

यता, साउदी नेतृत्वको गठबन्धन सेनाले हुथीले प्रहार गरेका ६ वटा ब्यालिस्टिक क्षेप्यास्त्र बीचमै खसालेको जनाएको छ। आक्रमणबाट कुनै क्षति वा मानवीय हताहती भए/नभएकोबारे साउदी अधिकारीहरूले आधिकारिक पुष्टि गरेका छैनन्। विश्वव्यापी तेल मागको करिब १० प्रतिशत आपूर्ति गर्ने अरामकोले पनि घटनाबारे तत्काल प्रतिक्रिया दिएको छैन।

न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा अमेरिका र इरानबीच सात महिनादेखि जारी द्वन्द्व समाधानका लागि कूटनीतिक प्रयास भइरहेका बेला हुथी आक्रमणको दाबी सार्वजनिक भएको हो। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावअघि नै वासिङ्टन युद्ध अन्त्यसम्बन्धी समझदारीमा फर्कने आशा व्यक्त गरेका छन्।

सिड्नीस्थित केसीएम ट्रेडका मुख्य बजार विश्लेषक टिम वाटररका अनुसार महत्वपूर्ण तेल आपूर्ति मार्ग र पूर्वाधार अझै जोखिममा रहेकाले तेलको मूल्य उच्च रहने सम्भावना छ। उनका अनुसार कूटनीतिक प्रयास जारी रहे पनि ठोस सहमति नभएसम्म तेलको मूल्यमा उल्लेख्य गिरावट आउने सम्भावना कम छ।

त्यस्तै, सिङ्गापुरस्थित स्पार्टा कमोडिटिजका वरिष्ठ तेल बजार विश्लेषक जुन गोहले इरानसँगको युद्ध जारी रहेसम्म तेलको मूल्य प्रतिब्यारल १०० डलरभन्दा माथि रहन सक्ने बताएका छन्। स्पष्ट समाधान नदेखिँदा विश्वव्यापी तेल मौज्दातमा आपूर्ति–मागको अन्तर थप बढिरहेको उनको भनाइ छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार