काठमाडौँ । मौसमविद् राजन लामिछानेका अनुसार आगामी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि अझ बढ्ने सम्भावना रहेको छ। बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। पाल्पाको अर्चले मौसम मापन केन्द्रमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको मौसमविद् लामिछानेले जानकारी दिएका छन्। पछिल्ला दुई दिनदेखि विभिन्न स्थानमा लगातार वर्षा भइरहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। उनका अनुसार असोज १० गते शनिबारसम्म न्यून चापीय प्रणाली पश्चिमतर्फ सर्दै जाने भएकाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि अझ बढ्न सक्छ। असोज ११ गते आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रणालीको प्रभाव कायम रहनेछ। असोज १२ गतेदेखि देशभर मौसम क्रमशः सुधार हुँदै जाने र असोज १३ गतेदेखि वर्षाको प्रभाव अझ कम हुने सम्भावना रहेको विभागले जनाएको छ। मौसम प्रणालीमा निरन्तर परिवर्तन हुन सक्ने भएकाले विभागले निगरानी गरिरहेको र आवश्यकताअनुसार पूर्वानुमान तथा चेतावनी अद्यावधिक गर्दै जाने मौसमविद् लामिछानेले बताएका छन्। भारी वर्षा भइरहेका तथा चेतावनी जारी गरिएका क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यान दिँदै अनावश्यक यात्रा नगर्न तथा आवश्यक सावधानी अपनाउन उनले आग्रह गरेका छन्।