काठमाडौं । कोशी ब्यारेजमा पानीको बहाव बढेसँगै ३१ वटा ढोका खोलिएको छ। ब्यारेजमा अहिले करिब २ लाख ४० हजार क्युसेक बाढी मापन भएको र अवस्था ‘रेड अलर्ट’ मा रहेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद अर्यालले जानकारी दिएका छन्।
सीडीओ अर्यालका अनुसार अघिल्ला वर्षहरूमा कोशीमा ५ लाख क्युसेकभन्दा बढी बाढी मापन भए पनि अहिले नै आत्तिनुपर्ने अवस्था भने छैन। प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइरहेको उनले बताए।हाल कोशी पुल भएर चल्ने सवारीसाधनको आवागमन भने रोकिएको छैन। पानीको बहाव थप बढेमा परिस्थितिअनुसार सवारीसाधन सञ्चालनबारे आवश्यक निर्णय गरिने सीडीओ अर्यालले बताएका छन्।
यसैबीच, मौसम विज्ञान विभागले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा पर्सिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।