पोखरा । लगातारको अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव अत्यधिक बढेपछि पोखराको रामघाट क्षेत्र डुबानको जोखिममा परेको छ। जोखिम बढेसँगै सुरक्षाकर्मीले माइकिङ गर्दै रामघाट क्षेत्रका बासिन्दालाई अत्यावश्यक सामान तथा महत्वपूर्ण कागजातसहित सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। सुरक्षाकर्मीले अविरल वर्षाका कारण सेती नदीको बहाव बढेर रामघाट क्षेत्रमा डुबान हुन थालेकाले स्थानीयलाई आफू र आफ्ना अत्यावश्यक सामान सुरक्षित स्थानमा लैजान अनुरोध गरेका हुन्। प्रहरीले गीता मन्दिर, क्रियापुत्री भवन र लक्ष्मीनारायण मन्दिर क्षेत्र भने सुरक्षित रहेको जनाउँदै आवश्यक परे त्यहाँ जान सकिने जनाएको छ। विगत केही दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण देशभरका नदी तथा खोलामा जलसतह बढेर जोखिमपूर्ण अवस्थामा पुगेको छ। सेती नदीको तीव्र बहावका कारण नदी तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका छन्। प्रशासनले नदी किनारका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन, अनावश्यक रूपमा नदी किनारमा नजान तथा कुनै आपत्कालीन अवस्था आएमा तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।