सर्लाही । सर्लाहीको मलंगवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि मलंगवासहित १० स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ। अविरल वर्षाका कारण सबस्टेसनको स्विचयार्ड र कन्ट्रोल रुममा पानी पसेपछि आज बिहान करिब ४ बजेदेखि विद्युत् आपूर्ति बन्द गरिएको नेपाल विद्युत् प्राधिकरण, मलंगवा वितरण शाखाले जनाएको छ। प्राविधिक इन्जिनियर सौरभ साहका अनुसार सबस्टेसन क्षेत्र अझै जलमग्न रहेकाले तत्काल विद्युत् सेवा सञ्चालन गर्न सकिने अवस्था छैन। अहिले मोटर पम्पमार्फत पानी निकाल्ने काम भइरहेको छ भने कन्ट्रोल रुमबाट पानी हटाएर उपकरण सुकाउने कामसमेत भइरहेको छ। वितरण शाखाका प्रमुख माधवेन्द्र यादवका अनुसार पानी निकासका लागि सबस्टेसन परिसरको पर्खालमा प्वाल पारिएको छ, तर बाहिरी नाला जाम भएकाले पानी निकासमा समस्या भएको छ। पानीको सतह घटेपछि प्राविधिक परीक्षण गरी अबको दुईदेखि तीन घण्टाभित्र विद्युत् सेवा पुनः सञ्चालन गर्न सकिने यादवले बताए। विद्युत् सेवा अवरुद्ध हुँदा मलंगवासहित १० स्थानीय तहका उपभोक्ता प्रभावित भएका छन्।