सिड्नी । अस्ट्रेलियाको प्रमुख बजेट एयरलाइन्स जेटस्टारका करिब १ हजार ग्राहक सेवा तथा विमानस्थल कर्मचारी पारिश्रमिक र सेवा सुविधासम्बन्धी माग राख्दै औद्योगिक आन्दोलनमा उत्रिएका छन्। अस्ट्रेलियन सर्भिसेस युनियन (एएसयू) मा आबद्ध कर्मचारीले २३ र २४ सेप्टेम्बरमा संरक्षित औद्योगिक कारबाही गरेका थिए। आन्दोलनका क्रममा उनीहरूले यात्रुलाई नियमित सेवा भने जारी राखेका थिए। तर अतिरिक्त ब्यागेज, सिट परिवर्तन, लेट शुल्कलगायत केही बिक्रीसम्बन्धी शुल्क नलिने वा शून्यमा रेकर्ड गर्ने कारबाही गरेका थिए।
कर्मचारीहरूले तलब वृद्धि, ओभरटाइम तथा पेनाल्टी दरमा सुधार, बिदासम्बन्धी सुविधा, रोजगारी तथा पद कटौतीबाट सुरक्षा र अत्यधिक गर्मी तथा खराब मौसममा काम गर्ने कर्मचारीको सुरक्षालगायतका माग अघि सारेका छन्। युनियनले कर्मचारीको पारिश्रमिक तथा कार्यस्थलका सुविधामा सुधार गर्नुपर्ने माग गर्दै आएको छ।जेटस्टारले भने तलब वृद्धि, पेनाल्टी भुक्तानी तथा भत्तामा सुधार र रोस्टरमा थप लचकतासहितको प्रस्ताव अघि सारेको जनाएको छ। कम्पनीले औद्योगिक कारबाहीका कारण आफ्नो उडान सञ्चालनमा ठूलो असर नपर्ने गरी आवश्यक तयारी गरिएको बताएको थियो।२३ र २४ सेप्टेम्बरको औद्योगिक कारबाहीपछि जेटस्टारले युनियनसँग आकस्मिक वार्ता बोलाएको छ। एएसयूका अनुसार २८ सेप्टेम्बर सोमबार हुने बैठकमा कम्पनीले संशोधित प्रस्ताव पेस गर्नेछ। त्यसअघि थप औद्योगिक कारबाही घोषणा गरिएको छैन। यसअघि युनियनले वार्ता असफल भए थप औद्योगिक कारबाही गर्न सक्ने संकेत दिएको थियो। अब कर्मचारीको आगामी कदम सोमबार हुने वार्ता र कम्पनीले पेस गर्ने संशोधित प्रस्तावमा निर्भर हुनेछ।
जेटस्टारबाट यात्रा गर्ने यात्रुलाई आफ्नो उडानको पछिल्लो अवस्था कम्पनीको आधिकारिक वेबसाइट वा एपमार्फत जाँच गर्न सुझाव दिइएको छ। यसअघिको औद्योगिक कारबाहीका क्रममा पनि जेटस्टारले उडान सञ्चालनमा ठूलो असर नपर्ने जनाएको थियो।जेटस्टार क्वान्टास समूहअन्तर्गतको बजेट एयरलाइन्स हो। यसले अस्ट्रेलियाका विभिन्न सहरसँगै न्युजिल्यान्ड र एसिया–प्रशान्त क्षेत्रका विभिन्न गन्तव्यमा उडान सञ्चालन गर्दै आएको छ।