बागलुङ। बागलुङको तमानखोला गाउँपालिका–४ लाम्लेलामा पहिरो जाँदा मानवीय क्षति भएको आशङ्का गरिएको छ। पहिरोमा केही मानिस पुरिएको सूचना आए पनि घटनास्थलमा टेलिफोन नेटवर्क अवरुद्ध भएका कारण क्षतिको यकिन विवरण भने प्राप्त हुन सकेको छैन।तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित परियारका अनुसार पहिरो गएको र मानिसहरू पुरिएको जानकारी सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्राप्त भएको हो। घटनास्थलमा सम्पर्क हुन नसक्दा कति जनाको क्षति भयो भन्ने पुष्टि गर्न कठिनाइ भइरहेको उनले बताए। वडाध्यक्षसहित स्थानीयसँग समेत फोन सम्पर्क हुन नसकेको जनाइएको छ।
लगातारको वर्षा, झरी र बादलका कारण सञ्चार सम्पर्कमा थप समस्या भएको बताइएको छ। सामान्य अवस्थामा पनि नेटवर्क कमजोर रहेको उक्त क्षेत्रमा अहिले फोन सम्पर्क पूर्ण रूपमा विच्छेद भएको अधिकारीहरूले बताएका छन्।पहिरोका कारण सडकसमेत अवरुद्ध भएपछि उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न कठिनाइ भएको छ। प्रहरी तथा स्थानीय टोली घटनास्थलतर्फ जाने प्रयास गरिरहेका छन्। तर ठाउँ–ठाउँमा पहिरो खसिरहेका कारण उद्धार टोलीको आवतजावतमा समेत समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
यसैबीच, बागलुङकै निसीखोला गाउँपालिका–३ हर्दरामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ। पहिरोमा परी ३९ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १२ वर्षीय मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विकको मृत्यु भएको जनाइएको छ।तमानखोलाको घटनामा भने उद्धार टोली घटनास्थल पुगेपछि मात्रै मानवीय क्षतिको वास्तविक विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।