चोलेन्द्रशमशेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षाका लागि प्रहरीसँग राखिएको दाबी

चोलेन्द्रशमशेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षाका लागि प्रहरीसँग राखिएको दाबी

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ नगरिएको दाबी गरेका छन्। उनका अनुसार राणाको जीवनमाथि गम्भीर खतरा हुनसक्ने सूचना प्राप्त भएपछि सुरक्षाका लागि उनलाई प्रहरीको साथमा ल्याइएको हो।नेपाल प्रेससँग कुरा गर्दै एसएसपी खड्काले राति नै राणाको जीवनमाथि गम्भीर खतरा रहेको सूचना आएपछि सुरक्षा दिने क्रममा आफूहरूसँगै ल्याइएको बताए। उनले राणा अहिले पनि सुरक्षाका लागि प्रहरीसँगै रहेको जानकारी दिए।राणाको सुरक्षा अवस्था सुनिश्चित भएपछि उनलाई घर पठाउने वा अन्य कुनै सुरक्षित स्थानमा राख्ने विषयमा निर्णय गरिने खड्काले बताए। उनका अनुसार उच्च प्रोटोकल भएका व्यक्तिलाई सामान्य अवस्थामा पक्राउ गर्ने विषय नहुने भएकाले अहिलेको अवस्था पक्राउ नभई सुरक्षासँग सम्बन्धित रहेको हो।‘उहाँजत्तिको प्रोटोकल भएको व्यक्तिलाई हामीले यत्तिकै पक्राउ गर्ने भन्ने हुँदैन। अहिले पनि सुरक्षाका लागि हामीसँगै हुनुहुन्छ। उहाँ सुरक्षित हुने सुनिश्चिततापछि घरमा पठाउने वा अन्यत्र सुरक्षित राख्ने भन्ने कुरा हुन्छ,’ एसएसपी खड्काले भने।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार