पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति शंकर पोखरेलको आपत्ति

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति शंकर पोखरेलको आपत्ति

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाराजगञ्जस्थित निवासबाट मध्यराति प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन्।पोखरेलले जबरालाई कुनै प्रमाण र कानुनी आधारबिना पक्राउ गरिएको भन्दै यस्तो कार्य नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत हुने गलत तथा स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको टिप्पणी गरेका छन्।उनले राज्यका निकायबाट हुने गलत कामको खबरदारी गर्न सबैलाई आग्रहसमेत गरेका छन्। पोखरेलले कानूनको शासन र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि सम्बन्धित पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।यसैबीच, पूर्वप्रधानन्यायाधीश जबरालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको हो। प्रहरीले भने उनलाई सुरक्षा चुनौती देखिएपछि कार्यालयमा ल्याइएको जनाएको छ। यद्यपि, उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले हालसम्म विस्तृत विवरण सार्वजनिक गरेको छैन।जबरालाई नियन्त्रणमा लिँदा पक्राउ पुर्जी दिइएको थियो वा थिएन भन्ने विषयमा समेत प्रश्न उठेको छ। घटनाको कानुनी प्रक्रिया र नियन्त्रणमा लिनुको आधारबारे थप विवरण सार्वजनिक भएपछि मात्रै यसको वास्तविक अवस्था स्पष्ट हुने देखिन्छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार