मिथिलामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु, चार जनाको सकुशल उद्धार

मिथिलामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु, चार जनाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–११, आँपगाछीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने परिवारका अन्य चार जनाको सकुशल उद्धार गरिएको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आइतबार बिहान करिब ९ः१५ बजे राजन श्रेष्ठको एकतले टालीको छानो भएको घर पहिरोले पुरिएको हो। घर पहिरोले पुरिएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवर र इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीबाट संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो।घरमा रहेका पाँच जनामध्ये चार जनालाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए। खोज तथा उद्धारका क्रममा बिहान ११ बजे राजन श्रेष्ठकी श्रीमती ३५ वर्षीया कमला श्रेष्ठलाई मृत अवस्थामा फेला पारिएको थियो।प्रहरीका अनुसार मृतक कमला श्रेष्ठको शव सरकारी अस्पताल बर्दिबास, महोत्तरी पठाइएको छ। घटनापछि प्रहरीले आवश्यक खोज तथा उद्धारको काम अघि बढाएको जनाएको छ।मधेश प्रदेशमा पछिल्लो दुई दिनदेखि लगातार वर्षा भइरहेको थियो। लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो तथा डुबानको जोखिम बढेको भए पनि आइतबार दिउँसो १२ बजेपछि मौसम सामान्य भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार