काठमाडौँ । लगातारको वर्षा र पहिरोका कारण कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमा क्षति पुगेपछि ३५८.२ मेगावाट विद्युत् उत्पादन राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार म्याग्दी र पर्वत जोड्ने दाना–कुश्मा खण्डमा प्रसारण लाइनको संरचनामा क्षति पुगेपछि उक्त करिडोरमा जोडिएका १२ वटा जलविद्युत आयोजनाको विद्युत् प्रवाह ठप्प भएको हो।विद्युत् उत्पादन बन्द हुने आयोजनामा ७१ मेगावाटको निलगिरी–२, ४८.५ मेगावाटको माथिल्लो राहुघाट, ४२ मेगावाटको मिस्त्री खोला, ४० मेगावाटको राहुघाट, ३८ मेगावाटको निलगिरी–१, ३५.५ मेगावाटको राहुघाट मंगले, २२.५ मेगावाटको माथिल्लो ठूलोखोला, २१.३ मेगावाटको ठूलोखोला, १४ मेगावाटको घारखोला, १३.६ मेगावाटको थापाखोला, ६ मेगावाटको रेलेखोला र ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजना रहेका छन्।नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीद्वारा हालै निर्माण सम्पन्न भई परीक्षणका क्रममा रहेको ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनासहित निजी क्षेत्रका ठूला तथा साना आयोजनाको उत्पादनसमेत रोकिएको छ। एकैपटक ३५८.२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिँदा प्रणाली व्यवस्थापनमा समेत चुनौती थपिएको प्राधिकरणले जनाएको छ।निरन्तरको वर्षा र पहिरोका कारण प्रसारण लाइनका विभिन्न संरचनामा क्षति पुगेको जनाउँदै प्राधिकरणले बिग्रिएको स्थान पहिचान गरी मर्मत टोली परिचालन गर्ने तयारी भइरहेको जनाएको छ। मौसममा सुधार आउनासाथ क्षतिग्रस्त प्रसारण लाइनको मर्मत गरी विद्युत् सेवा यथाशक्य चाँडो सुचारु गर्ने प्रयास भइरहेको प्राधिकरणको भनाइ छ।