चितवन । अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । बिहान ७ः५५ बजे पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो १२ः१५ बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । सडक सञ्चालनमा आएसँगै पोखराबाट नारायणगढतर्फ र नारायणगढबाट पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन गन्तव्यतर्फ आवतजावत गरिरहेका छन् । यता, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सचिन्द्र मिश्रका अनुसार शीलत बजारमा लेदो र रुखसहितको पहिरो खसेको छ भने सडक छेउ भासिएको छ । बेनिघाट बजार नजिकको गोमती खोलामा लेदोसहितको पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ भने कृष्णभीर, ज्यामिरेघाट चौकीभीर, घोप्टेभीर र सिमलधारालगायतका स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । फिस्लिङ आसपासका तीन स्थानमा करिब २०० मिटर सडकमा ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ भने करिब ३० मिटर सडकको आधा भाग चर्किएको छ । चुम्लिङटारमा ढुङ्गासहितको पहिरो तथा धारापानीका दुई स्थानमा करिब ५० मिटर सडकको आधा भाग भत्किएको छ । प्रभावित स्थानमा पहिरो पन्छाउने तथा कल्भर्ट खुलाउने काम भइरहेको छ । सबै स्थानमा सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका उपकरण प्रयोग गरी पहिरो हटाउने काम भइरहेको र ठूलो पहिरो नखसेमा साँझसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य रहेको इञ्जिनियर मिश्रले जानकारी दिए।