म्याग्दी । म्याग्दीमा आइतबार आएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने तीन जनाको जीवितै उद्धार गरिएको छ। अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा पहिरोमा पुरिएर बेपत्ता भएका ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिए।यसैगरी, अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाममा पहिरोमा फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ। सुरक्षाकर्मीको टोलीले उनीहरूलाई उद्धार गरी बेनी ल्याएको प्रशासनले जनाएको छ।बेनी नगरपालिका–३ भकिम्लीको छेपारेमा पहिरोमा परी ३६ वर्षीया कुमारी वली विकको मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजन कार्कीले बताए। उनका अनुसार मालिका गाउँपालिका–३ औलामा पहिरोमा पुरिएका किरण पुनलाई अचेत अवस्थामा उद्धार गरिएको छ भने नाम नखुलेका दुई जनाको खोजी भइरहेको छ।