नवलपरासी । नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि चितवन र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जोड्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणी नदीमाथिको पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार पुल पुरानो हुनुका साथै अत्यधिक हल्लिएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार दिउँसो केही समय पूर्ण रूपमा सवारी आवागमन बन्द गरिएको थियो। अहिले भने मोटरसाइकललाई मात्र आवतजावत गर्न दिइएको छ।नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकलबाहेकका सवारीसाधनलाई गैँडाकोटमा तथा चितवनको नारायणघाटबाट नवलपुरतर्फ आउने सवारीसाधनलाई नारायणघाटमै रोकिएको प्रहरीले जनाएको छ। पुलमा रोकिएर पैदलयात्री तथा यात्रुलाई तस्बिर र श्रव्यदृश्य सामग्री खिच्नसमेत रोक लगाइएको छ। देवघाटस्थित जलमापन केन्द्रका अनुसार आइतबार दिउँसो १ः५० बजे नारायणी नदीमा पानीको सतह ११.९१ मिटर पुगेको थियो, जुन चेतावनी तह ७.३ मिटर र खतराको तह ९ मिटरभन्दा माथि हो। नदीमा पानीको बहाव अझै बढ्ने क्रममा रहेको केन्द्रले जनाएको छ। बहाव घटेपछि मात्रै पुलमा सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ। यसैबीच, नदीमा पानीको बहाव बढेसँगै गैँडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाका नारायणी तटीय क्षेत्रका केही बस्ती डुबानमा परेका छन्।