काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा पहिरो गएपछि हिमाल आरोहणमा गएका १० जना आरोही सम्पर्कविहीन भएको आशंका गरिएको छ। घटनापछि स्थानीय प्रशासनले खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालय मनाङका इन्स्पेक्टर विनोद बोहराका अनुसार प्रभु हेलिकप्टरमार्फत चार जना उद्धारकर्मी पहिरो प्रभावित क्षेत्रमा पठाइएको छ भने थप तीन जना उद्धारकर्मीलाई कैलाश हेलिकप्टरमार्फत पठाउने तयारी भइरहेको छ। पहिरोका कारण सम्पर्कविहीन भएका आरोहीहरू नेपाली नागरिक रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। यद्यपि, उनीहरू पहिरोमा परेको वा उनीहरूको अवस्थाबारे यकिन विवरण भने अहिलेसम्म प्राप्त भइसकेको छैन।