ललितपुर । ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा पहिरोका कारण साढे २ तले घर ढलेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार जमिन गलेपछि घरभन्दा तलतर्फ पहिरो जाँदा सोवितकुमार थापाको घर सोमबार बिहान ढलेको हो। असोज ९ गतेदेखि लगातार परेको वर्षाका कारण जमिन गलेको र त्यसपछि पहिरो जाँदा घर ढलेको प्रहरीले जनाएको छ। घर जोखिममा रहेको आकलन गरी त्यहाँ बस्दै आएको परिवारलाई अघिल्लो दिन नै सुरक्षित स्थानमा सारिएको थियो। परिवारलाई समयमै सारिएकाले घटनामा मानवीय क्षति हुनबाट जोगिएको एसपी मिश्रले बताए। आइतबार साँझदेखि भने वर्षा रोकिएको छ।