काठमाडौँ । कर्णाली प्रदेशसभाका सदस्य तथा पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद कायम रहने वा नरहने विषयमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। सोमबार न्यायाधीश सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा शर्माले दायर गरेको रिटमाथि सुनुवाइ भएको हो। शर्माको रिटलाई पहिलो प्राथमिकतामा राखेर सुनुवाइ भइरहेको छ।यसअघि २०८२ फागुन १४ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै शर्माको सांसद पद तत्कालका लागि यथावत् कायम राख्न आदेश दिएको थियो। उक्त आदेशपछि उनको सांसद पदसम्बन्धी विवादको अन्तिम टुंगो लाग्न बाँकी रहेको छ।तत्कालीन नेकपा माओवादीबाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रचारमा संलग्न भएको आरोप लागेको थियो। सोही विषयलाई आधार बनाएर सम्बन्धित पार्टीको सिफारिसमा प्रदेशसभा सचिवालयले शर्माको सांसद पद खारेज गर्ने निर्णय गरेको थियो।सांसद पद खारेज गर्ने निर्णयविरुद्ध शर्मा सर्वोच्च अदालत पुगेका हुन्। अहिले सर्वोच्च अदालतमा उनको रिटमाथि सुनुवाइ भइरहेकाले अदालतको निर्णयपछि उनको सांसद पदसम्बन्धी विवादको आगामी अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ।