पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा पेसी

पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा पेसी

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइका लागि सोमबार पेसी तोकिएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने भएको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा रु. १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा सम्पत्ति आर्जन गरेको दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले सोही रकमलाई बिगो कायम गरी २०८२ जेठ १९ गते विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो।

अभियोगपत्रअनुसार सोडारीले २०७४ माघ ७ देखि २०७९ माघ १० गतेसम्म सार्वजनिक सेवाको पदमा रहँदा आफ्नो पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आयोगको दाबी छ। अनुसन्धानका क्रममा सोडारीको पारिश्रमिक, बैंक ब्याज, कृषि आय तथा उनकी श्रीमती र छोराछोरीको पारिश्रमिक र सामाजिक सुरक्षा भत्तालगायत स्रोतबाट उक्त अवधिमा कुल रु. ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा आम्दानी भएको देखिएको आयोगले जनाएको छ।तर, सोही अवधिमा जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन खर्च, छोराको विवाह खर्च, सेयर लगानी र चुनाव खर्चलगायत विभिन्न शीर्षकमा रु. १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च भएको आयोगको दाबी छ।

आय र व्ययबीचको तुलना गर्दा रु. १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बराबरको रकमको स्रोत नखुलेको आयोगको निष्कर्ष छ।आयोगले सोडारीकी श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा खरिद गरिएको जग्गा, निर्माण गरिएको घर तथा बैंक मौज्दातसमेत जफत गर्न अदालतसमक्ष माग गरेको छ। अब विशेष अदालतको सुनुवाइपछि उक्त मुद्दामा थप कानुनी प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार