हुम्ला । तीन दिनदेखि परेको अविरल वर्षाका कारण हुम्लाको सिमकोटदेखि सर्केगाडसम्म विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। सडक ठाउँ–ठाउँमा भत्किएपछि सवारी आवागमन प्रभावित भएको छ भने यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै अलपत्र परेका छन्।चंखेली गाउँपालिका–१ का जनक बुढाका अनुसार हुम्लाबाट नेपालगन्ज तथा सुर्खेततर्फ जाने र नेपालगन्ज तथा सुर्खेतबाट हुम्लाको सदरमुकाम सिमकोट आउने सवारीसाधन विभिन्न स्थानमा रोकिएका छन्। सर्केगाड, स्यालतडी, खरिखेत, सुनाखाडा, लालीबगर, मुसेडी र याङ्चु बजारलगायत क्षेत्रमा ठूला मालवाहक गाडी तथा जीप रोकिएका छन्।
कर्णाली करिडोरअन्तर्गत पर्ने कुरिल्ला खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि पैदल आवागमनसमेत कठिन भएको बुढाले बताए। सर्केगाडदेखि सिमकोटसम्मका विभिन्न स्थानमा पहिरो खसेपछि सडकमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।यसअघि गत असोज २ गते कर्णाली करिडोरअन्तर्गत छारेमा चट्टानी भिर खसेर सडक अवरुद्ध भएको थियो। हिल्सा–सिमकोट सडक योजनाले निरन्तर रूपमा पहिरो तथा चट्टान पन्छाएपछि करिब एक सातापछि उक्त सडक सञ्चालनमा आएको थियो। छारे खण्ड खुलाइए पनि अहिले कर्णाली करिडोरका अन्य विभिन्न खण्डमा पहिरो खसेपछि यातायात सेवा पुनः प्रभावित भएको छ।