मर्स्याङ्दी नदीको बहाव क्रमशः सामान्य बन्दै

मर्स्याङ्दी नदीको बहाव क्रमशः सामान्य बन्दै

मनाङ । अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी र बालुवा थुप्रिँदा तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी पछिल्लो समय सामान्य रूपमा बग्न थालेको छ। नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको प्रहरीले जनाएको छ।नासोँ गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चार दिनसम्म परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत्, टेलिफोन तथा सडक सञ्जाल अवरुद्ध भएका छन्। उनले विपद्का समयमा स्थानीय तह सञ्चार, विद्युत् र सडक सञ्जालबाट समेत विच्छेद हुन पुगेको भन्दै सीमित स्रोतसाधन परिचालन गरेर उद्धार तथा व्यवस्थापनको काम भइरहेको बताए। प्रदेश र संघ सरकारले विपद्का समयमा थप सहयोग गर्नुपर्ने उनको भनाइ छ।बाढीको बहाव घटेपछि नेपाली सेनाको ब्यारेक, सामुदायिक भवनलगायत सार्वजनिक भवन तथा सुरक्षित स्थानमा आश्रय लिएका स्थानीयवासी बिहानैदेखि आफ्ना घर तथा गाउँमा भएको क्षतिको अवस्था बुझ्न थालेका छन्।

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले थुनिएको मर्स्याङ्दी नदीको पानीको बहाव क्रमशः खुल्दै गएको जानकारी दिए। सडक सम्पर्क विच्छेद रहेकाले स्काभेटर प्रयोग गरी नदीको पानीको बहावलाई थप सहज बनाउने विषयमा छलफल भइरहेको उनले बताए।बाढीका कारण लमजुङ र मनाङको सीमा क्षेत्रमा रहेको ताल बजारमा समेत क्षति पुगेको छ। निरन्तरको वर्षापछि ठाडो खोला र घट्टेखोलामा आएको बाढीले नदी तथा खोलाको आसपासका क्षेत्रमा कटान गर्दा घर, पुल र सडकमा क्षति पुगेको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी खनालले मर्स्याङ्दी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई अझै पनि सतर्क रहन आग्रह गरेका छन्।मनाङमा यसअघि पनि विसं २०७८ जेठ १४ र असार १ गते घट्टेखोला, ठाडो खोला तथा मर्स्याङ्दी नदीमा आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको थियो। पछिल्लो बाढीका कारण पनि जिल्लाका विभिन्न क्षेत्रमा भौतिक संरचनामा क्षति पुगेकाले जोखिम कायमै रहेको प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार