चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रबाट नारायणी नदीले बगाएर करिब पाँच वर्षको एउटा गैँडा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–४ पुगेको छ। शनिबार र आइतबार आएको ठूलो बाढीका क्रममा नदी तटीय क्षेत्रबाट बगेको गैँडा सोमबार बिहान सुस्तामा देखिएको हो। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैँडाको निगरानी भइरहेको छ र उद्धार गरी चितवन ल्याउने तयारी गरिएको छ। गैँडालाई डार्ट गरेर बेहोस बनाई डुङ्गा वा भारतीय बाटो हुँदै उद्धार गर्नुपर्ने अवस्था रहेको उनले बताए। बाढीका कारण अन्य गैँडा तथा वन्यजन्तु पनि भारततर्फ पुगेको हुन सक्ने निकुञ्जले जनाएको छ। यसअघि २०७४ सालको बाढीमा राप्ती र नारायणी नदीले बगाएर भारतीय भूमिमा पुगेका १२ वटा गैँडा उद्धार गरी नेपाल ल्याइएको थियो। यस वर्ष राप्ती नदीको मेघौली, खैरहनीलगायत क्षेत्रमा बगेका केही गैँडा भने आफैँ सुरक्षित स्थानमा उत्रिएका छन्। यसैगरी भरतपुर महानगरपालिका–१७ शिसुवारबाट एउटा मृगको समेत उद्धार गरिएको छ। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन्।