लमजुङ । पछिल्लो चार दिनदेखि परेको निरन्तर वर्षाका कारण आएको बाढीपहिरोले बेँसीसहर–चामे सडकका विभिन्न स्थानमा क्षति पुर्याएपछि सडक मर्मत तथा पहिरो पन्छाउने काम सुरु गरिएको छ। सडकमा एकैपटक धेरै स्थानमा क्षति भएकाले पूर्ण रूपमा सञ्चालनमा ल्याउन करिब एक साता लाग्ने अनुमान गरिएको छ।डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार सडकमा मुख्य रूपमा तीन स्थानमा ठूलो क्षति पुगेको छ। मस्र्याङ्दी गाउँपालिका–४ रामबजार क्षेत्रमा करिब २५ देखि ३० मिटर सडक भासिएको छ भने मनाङको नासों गाउँपालिका–३ खोत्रो क्षेत्रमा ठूला ढुंगासहित पहिरो गएको छ। ठूला ढुंगा हटाउन बम ब्लास्टिङ गर्नुपर्ने अवस्था रहेको उनले बताए। त्यस्तै, कोत्रो क्षेत्रमा मस्र्याङ्दी नदीले सडक कटान गर्नुका साथै दुई वटा काठे पुलसमेत बगाएको छ।
सडक खुलाउन आयोजनाले दुई वटा डोजर परिचालन गरेको छ भने थप एउटा डोजर नुवाकोटबाट ल्याउने तयारी भइरहेको छ। तीनवटै डोजर परिचालन गरी सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडक खुलाउन जलविद्युत् आयोजनासँग समेत सहयोग मागिएको छ। केही स्थानमा भएको क्षतिको व्यवस्थापनका लागि प्राविधिक अध्ययनसमेत आवश्यक पर्ने आयोजनाले जनाएको छ।बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा मनाङवासीको आवतजावतसँगै खाद्यान्न, औषधि, निर्माण सामग्रीलगायत अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भएको छ। मनाङमा खानेपानीको समस्या देखिन थालेको र अधिकांश खाद्यान्न तथा आवश्यक सामग्री बाहिरबाट ल्याउनुपर्ने भएकाले सडक लामो समय अवरुद्ध भए समस्या थप गम्भीर हुन सक्ने बताइएको छ। करिब ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने प्रमुख स्थलमार्ग हो।