काठमाडौँ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकको शून्य समयमा सांसदहरूले मुलुकको पछिल्लो भू–राजनीतिक अवस्था, जलवायु परिवर्तनका प्रभाव तथा जनसरोकारका विभिन्न विषयलाई प्रमुखताका साथ उठाएका छन्। उनीहरूले बाढीपीडितको तत्काल उद्धार तथा पुनःस्थापना, सार्वजनिक यातायातमा महिला सुरक्षा, लागुऔषध नियन्त्रण, बजारमा कालोबजारी रोकथाम तथा दीर्घकालीन पूर्वाधार विकासका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।सांसद अनुष्का श्रेष्ठले जलवायु परिवर्तनका विषयमा प्रधानमन्त्रीले संयुक्त राष्ट्र सङ्घको महासभामा राखेको धारणा सकारात्मक रहेको बताउँदै नेपालले उठाउँदै आएको ‘जलवायु न्याय’ र क्षेत्रीय समन्वयको एजेन्डालाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइन्। उनले विज्ञान, नीति र कूटनीतिबीच समन्वय गर्दै जलवायु परिवर्तनबाट प्रभावित स्थानीय समुदायको आवाजलाई प्राथमिकता दिनुपर्ने बताइन्। सांसद अमृता विकले अविरल वर्षाका कारण आफ्नो निर्वाचन क्षेत्रमा भएको क्षति तथा विस्थापित नागरिकको अवस्थाबारे सदनलाई जानकारी गराउँदै जोखिमपूर्ण घरमा फर्कन बाध्य भएका पीडितका लागि तत्काल राहत र पुनःस्थापनाको व्यवस्था गर्न माग गरिन्।
यसैगरी सांसद अर्जुनकुमार कार्कीले किमाथाङ्का नाका सञ्चालनसँगै सडक निर्माणलाई तीव्रता दिन सरकारसँग आग्रह गरे। सांसद अम्बिकादेवी सङ्ग्रौलाले साना जलविद्युत् आयोजनासँगै ठूला बाँधसहितका बहुउद्देश्यीय परियोजनालाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्। सहरी समस्याबारे सांसद अप्सना बानुले पार्किङ व्यवस्थापनमा देखिएको दोहोरो मापदण्डको विरोध गर्दै कानूनको पालना सबै पक्षबाट समान रूपमा हुनुपर्ने बताइन्। सांसद अशोककुमार चौधरीले सार्वजनिक यातायातमा महिलाको सुरक्षा चुनौतीपूर्ण रहेको भन्दै महिलामैत्री ‘ब्लु बस’ सेवा कार्यान्वयन गर्न माग गरे।लागुऔषध नियन्त्रणका विषयमा सांसद आनन्दबहादुर चन्दले केवल पक्राउ र कारबाहीमा सीमित नभई समस्याको वास्तविक अवस्था पहिचान गर्न ‘ग्लोबल स्कुल बेस्ड हेल्थ सर्भे’जस्ता वैज्ञानिक अध्ययन आवश्यक रहेको बताए। सांसद अर्विन साहले चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने कालोबजारी नियन्त्रण गर्न र सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद आशा झाले प्रधानमन्त्रीको भ्रमण तथा खोला किनारको मापदण्डसम्बन्धी विषय उठाउँदै संसद्मा सांसदहरूले उठाएका जनसरोकारका मुद्दा छलफलमै सीमित नराखी प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान आग्रह गरिन्।