काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले मधेसको विकास र समृद्धिका लागि महत्वपूर्ण पहल थालेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मधेसमा पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका कामले विकासको नयाँ आधार तयार गरिरहेको दाबी गरे।सांसद कर्णका अनुसार वर्षौँदेखि अलपत्र अवस्थामा रहेको कमला–कञ्चनपुर सडकखण्डको निर्माणले पछिल्लो समय गति लिएको छ। सडक निर्माण अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले प्रधानमन्त्री बालेन साहको नेतृत्वमा मधेसमा विकास र समृद्धिको नयाँ अभियान सुरु भएको बताए। शिक्षा, स्वास्थ्य तथा पूर्वाधार क्षेत्रमा सरकारले परिवर्तनको सुरुवात गरेको उनको भनाइ थियो।
त्यस्तै, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा पेस हुन लागेकोमा सांसद कर्णले खुसी व्यक्त गरे। सरकारले मेडिकल तथा इन्जिनियरिङ कलेज सञ्चालनको तयारी गर्नु सकारात्मक पहल भएको उनले बताए। जनकपुरमा राम जानकी रङ्गशाला निर्माणका लागि बजेट सुनिश्चित गरिएकोमा पनि उनले सरकारप्रति धन्यवाद व्यक्त गरे।विकासका गतिविधिसँगै मधेसले प्राकृतिक विपद् र वन्यजन्तुको आक्रमणको समस्या पनि सामना गरिरहेको सांसद कर्णले संसद्मा जानकारी गराए। तीन दिनदेखि भइरहेको अविरल वर्षाका कारण सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढीले ठूलो क्षति पुर्याएको उनले बताए। उनका अनुसार बाढीका कारण ५०० भन्दा बढी घर डुबानमा परेका छन् र स्थानीय नागरिक पीडित बनेका छन्।
यसैगरी, सप्तकोशी नगरपालिकाको कमलपुर र कञ्चनरूप नगरपालिकाको बस्तीपुर क्षेत्रमा हात्तीको आक्रमणबाट किसानका बालीनालीमा क्षति पुगेको उनले बताए। प्राकृतिक विपद्का साथै वन्यजन्तुको समस्याबाट समेत स्थानीय बासिन्दा प्रभावित भएको भन्दै उनले सरकारको तत्काल ध्यानाकर्षण गराए।सांसद कर्णले बाढी प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गरे। साथै, हात्तीको आक्रमणबाट बालीनाली गुमाएका किसानलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि उनले आग्रह गरे। प्रभावित नागरिक र किसानको समस्याप्रति सरकारले गम्भीरतापूर्वक ध्यान दिई तत्काल आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।