काठमाडौँ । सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न १८ हिमाल आरोहणका लागि ६८ टोलीका ६३७ जना आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिनेमा ४७४ पुरुष र १६३ महिला रहेका छन् । आरोहण अनुमति प्रदान गरेबापत विभागले रु २३ करोड ८५ लाख १७ हजार ७९७ रोयल्टी संकलन गरेको छ । अनुमति लिइएका हिमालमध्ये मनास्लु (८,१६३ मिटर) सबैभन्दा बढी आरोहीको रोजाइमा परेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन् भने उनीहरूबाट रु २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी संकलन भएको छ । विभागका अनुसार धौलागिरि–१ का लागि चार टोलीका ३४ जना, पुथा हिउँचुलीका लागि दुई टोलीका २० जना, डाङ्गा हिउँचुलीका लागि दुई टोलीका १६ जना र बरुणत्से हिमालका लागि एक टोलीका १० जनाले अनुमति लिएका छन् । यस्तै, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायतका हिमाल आरोहणका लागि पनि अनुमति प्रदान गरिएको विभागले जनाएको छ । विभागले यी हिमालका लागि जारी गरेको आरोहण अनुमतिबाट १५ लाख ६८ हजार ७३४ अमेरिकी डलर अर्थात् रु २३ करोड ८५ लाख १७ हजार ७९७ आम्दानी गरेको छ ।