कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा सडक माथिबाट ढुंगा खस्दा बसमा सवार चार जना घाइते भएका छन्। मंगलबार राति करिब १ः३० बजे चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३७७० नम्बरको बसमाथि अचानक ढुंगा खसेको थियो। ढुंगाले लागेर बसमा सवार ३० जनामध्ये चार जना सिटले च्यापिएर घाइते भएका थिए। घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. २९ ज्वालामाई गण दाङबाट सशस्त्र प्रहरी नायब उपरीक्षक बाबुराम थापाको कमान्डमा खटिएको टोलीले सिटले च्यापिएका चारै जनाको उद्धार गरेको थियो। उद्धार गरिएकामा बर्दियाको गेरुवा गाउँपालिका–२ का ३७ वर्षीय द्ववारीका प्रसाद थारु र ३५ वर्षीय सुरेशलाल थारु, चितवनको भरतपुर महानगरपालिका–११ की २० वर्षीया सलिना सुनार तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० की ४० वर्षीया भगवती कँडेल रहेका छन्। उनीहरूलाई उपचारका लागि दाङस्थित भालुवाङ अस्पताल पुर्याइएको छ। प्रहरीले घाइते चारै जनाको अवस्था सामान्य रहेको जनाएको छ।