काठमाडौं । पछिल्लो समयको विपद्बाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले विपद् व्यवस्थापनको संरचनागत सुधार गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले विपद्लाई ‘दैवी प्रकोप’ भन्दै जिम्मेवारीबाट पन्छिने प्रवृत्ति गलत भएको बताए। उनले हालैको विपद्मा २७ जनाको ज्यान गएको र चार जना अझै बेपत्ता रहेको जानकारी दिँदै अर्बौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको उल्लेख गरे। विपद्लाई दैवी कारणका रूपमा मात्र नभई प्राकृतिक वा मानव सिर्जित समस्याका रूपमा बुझ्नुपर्ने धारणा राख्दै खरेलले ‘विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ’ भने। उनले यसअघि संसद्मार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न गरेको मागको जवाफ अझै नआएको गुनासोसमेत गरे। विपद् व्यवस्थापन प्राधिकरणको वर्तमान संरचना र कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले सहसचिव तहका व्यक्तिलाई राखेर मात्रै जटिल विपद् व्यवस्थापनको समस्या समाधान नहुने बताए। प्राधिकरणलाई थप अधिकारसम्पन्न र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले संसद्को विशेष समिति तथा सुशासन र राज्य व्यवस्था समितिले पनि विपद् व्यवस्थापनसम्बन्धी संरचनागत सुधारका विषयमा गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताएका छन्।