• २०८३ असोज १३ गते मङ्गलवार
  • Preeti To Unicode

मर्स्याङ्दी नदी खुलाउन थालियो, बाढी–पहिरोले मनाङको जनजीवन प्रभावित

मर्स्याङ्दी नदी खुलाउन थालियो, बाढी–पहिरोले मनाङको जनजीवन प्रभावित

मनाङ । अविरल वर्षापछि मनाङको घट्टेखोलामा लेदोसहितका ठूला ढुङ्गा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न स्थानीय प्रशासन र चामे गाउँपालिकाले उपलब्ध एक्साभेटरलगायतका उपकरण प्रयोग गरी काम सुरु गरेका छन्। नदीले धार परिवर्तन गरेर आंशिक रूपमा बग्न थाले पनि पुलमाथिबाटै पानीको बहाव परिवर्तन हुँदा आसपासका केही घर डुबानमा परेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार नदीमा अड्किएका ठूला चट्टान हटाउनुपर्ने भएकाले त्यसका लागि आवश्यक तयारी भइरहेको छ। चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीय स्रोतसाधन प्रयोग गरी नदीको बहाव पुरानै अवस्थामा फर्काउन सके प्रभावित स्थानीयलाई छिट्टै घर फर्काउन सकिने बताएका छन्। ठूला चट्टान हटाउन विस्फोट गराउँदा नदीको तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने भएकाले सावधानीपूर्वक काम गर्नुपर्नेमा जोड दिइएको छ।

बाढी र पहिरोका कारण मनाङमा विद्युत्, खानेपानी, टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित हुनुका साथै सडक सञ्जालसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। ङिस्याङ गाउँपालिका–४ हुम्देलगायतका क्षेत्रमा बाढी र पहिरोको पानी तथा हिलो घरभित्र पस्दा स्थानीय प्रभावित भएका छन्। सब्जे खोलाबाट सञ्चालित लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति पुगेपछि विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको छ। यसअघि २०७८ सालमा पनि घट्टेखोला, ठाडो खोला र मर्स्याङ्दीमा आएको बाढीले मनाङमा ठूलो भौतिक क्षति पुर्‍याएको थियो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार