काठमाडौँ । नेपालका उद्योगमा सौर्य ऊर्जा तथा ब्याट्री ऊर्जा भण्डारण प्रणालीलाई सुरक्षित, प्रभावकारी र दिगो बनाउने उद्देश्यले पाँचदिने उच्चस्तरीय तालिम सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी)को आयोजनामा सुरु भएको ‘औद्योगिक क्षेत्रका लागि सोलार पिभी तथा ब्याट्री ऊर्जा भण्डारण प्रणालीः डिजाइन, जडान र सुरक्षा’ विषयक तालिममा ४५ जना इन्जिनियर सहभागी छन्।प्राक्टिकल एक्सन र घामपावर नेपालको सहकार्यमा आयोजित तालिममा नेपालमा सौर्य ऊर्जा तथा ब्याट्री भण्डारण प्रणालीको वर्तमान अवस्था, औद्योगिक कार्बन उत्सर्जन न्यूनीकरण, ऊर्जा व्यवस्थापन, ग्रिड सेवा, ब्याट्री प्रविधि, सुरक्षा मापदण्ड, साइबर सुरक्षा तथा वातावरणीय र सामाजिक सुरक्षालगायत विषयमा सहभागीलाई जानकारी दिइनेछ। तालिममा देशभरका निजी क्षेत्र, शैक्षिक तथा अनुसन्धान संस्था एवं सम्बन्धित सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता रहेको छ।
तालिममा सैद्धान्तिक ज्ञानका साथै वास्तविक औद्योगिक परिदृश्यमा आधारित समूहगत अभ्यास र क्षेत्रीय अवलोकन भ्रमणमार्फत सहभागीलाई व्यावहारिक अनुभवसमेत प्रदान गरिने एइपिसीले जनाएको छ। नेपालले स्वच्छ ऊर्जा विस्तार, ऊर्जा सुरक्षा तथा हरित औद्योगिकीकरणलाई प्राथमिकता दिइरहेको अवस्थामा सौर्य ऊर्जाको प्रयोगमार्फत समग्र ऊर्जा खपत घटाउनुका साथै विद्युत् आपूर्तिलाई थप भरपर्दो बनाउन योगदान पुग्ने केन्द्रको अपेक्षा छ।जलवायुजन्य विपद्का कारण ऊर्जा पूर्वाधारमा उत्पन्न हुन सक्ने जोखिमलाई रसुवा बाढीले समेत उजागर गरेको भन्दै केन्द्रले जलविद्युत्मा आधारित ऊर्जा उत्पादन, प्रसारण तथा वितरण पूर्वाधार नदी प्रणालीसँग जोडिएकाले मनसुनजन्य घटनाको जोखिमसमेत विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याएको छ। विद्युत् आयोजना बाढी तथा पहिरोको जोखिममा रहेको अवस्थामा सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीमार्फत स्थानीयस्तरमै ऊर्जा उत्पादन तथा सञ्चय गर्न सके जलवायु उत्थानशीलता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने एइपिसी सञ्चालक समिति सदस्य अङ्किता शाहले बताइन्।उनका अनुसार ऊर्जा उत्पादन तथा भण्डारण प्रवर्द्धनसम्बन्धी कार्यक्रमले हरित रोजगारी सिर्जना गर्नुका साथै नयाँ उद्यमशीलताका अवसरसमेत विस्तार गर्न सहयोग पुर्याउनेछ।