• २०८३ असोज १३ गते मङ्गलवार
  • Preeti To Unicode

गीतकार भाइसन बर्देवाको अन्तिम बिदाइ, इटहरीले गुमायो सिर्जनशील व्यक्तित्व

गीतकार भाइसन बर्देवाको अन्तिम बिदाइ, इटहरीले गुमायो सिर्जनशील व्यक्तित्व

इटहरी । इटहरीको बुढीगंगा मुक्तिघाटमा सोमबार गीतकार तथा सर्जक भाइसन बर्देवाको अन्तिम बिदाइ गरिएको छ। बर्देवाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन कोशी प्रदेशका गीतकार, संगीतकार, गायक–गायिका, साहित्यकार, लेखक, विश्लेषक, प्राध्यापक तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो। उनको निधनले इटहरीको गीत–संगीत तथा साहित्यिक क्षेत्रमा ठूलो क्षति पुगेको सहभागीहरूले बताएका छन्।भाइसनप्रति श्रद्धाञ्जली व्यक्त गर्न छिमेकी मुलुक भारतको दार्जीलिङ र सिक्किमबाट समेत स्रष्टाहरू इटहरी आएका थिए। केही वर्षदेखि मुटु र फोक्सोसम्बन्धी समस्याबाट पीडित बर्देवाको असोज ९ गते भारतको दिल्लीमा उपचारका क्रममा निधन भएको थियो। २०२७ सालमा जन्मिएका उनी ५६ वर्षको उमेरमा संसारबाट बिदा भएका हुन्।भाइसन बर्देवाको अन्तिम बिदाइमा संगीत साधना प्रतिष्ठान नेपालले आफ्नो झन्डा ओढाएर सम्मान गरेको थियो। इटहरीका मेयर हेमकर्ण पौडेल र उपमेयर संगीता चौधरीले प्रतिष्ठानको झन्डा ओढाएर दिवंगत बर्देवाप्रति श्रद्धाञ्जली व्यक्त गरे। संगीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसीले बर्देवाले इटहरीलाई सिर्जना र संगीतसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे।राजु केसीका अनुसार भाइसन र उनी बाल्यकालदेखिकै साथी थिए। सँगै खेल्ने र पढ्ने क्रममा उनीहरूको मित्रता गहिरिएको थियो। संगीत, साहित्य र कलाकारितामा लाग्न चाहनेहरूलाई बर्देवाले आर्थिक तथा अन्य सहयोगसमेत गर्ने गरेको उनले बताए। इटहरीका कलाकार तथा सर्जकलाई संरक्षण गर्नुपर्छ भन्ने सोच बर्देवामा रहेको केसीको भनाइ छ।

आम मानिसले भाइसनलाई मुख्यतः व्यवसायीका रूपमा चिने पनि उनीभित्र गहिरो सिर्जनशील मन र गीतकार रहेको केसीले बताए। पारिवारिक तथा व्यावसायिक व्यस्तताका कारण उनले गीतकारका रूपमा आफूलाई पर्याप्त रूपमा प्रस्तुत गर्न नपाएको उनको भनाइ छ। इटहरीको मुख्य चोकमा ‘एन्जल टेलर्स’ सञ्चालन गर्दै आएका बर्देवाले डिजाइन गरेका कपडाहरू पनि ग्राहकबीच लोकप्रिय थिए।गीत लेखनमा विशेष रुचि राख्ने बर्देवाले साहित्यका अन्य विधामा समेत कलम चलाएका थिए। करिब दुई दशकअघि उनले आफ्नै शब्द र संगीतमा लोकप्रिय गायक–गायिकाको स्वर रहेको एकल सांगीतिक एल्बम ‘मनका कुरा’ सार्वजनिक गरेका थिए। एल्बममा रामकृष्ण ढकाल, कर्णदास, जगदीश समाल, सुरेश कुमार, सपनाश्री, ईश्वर अमात्य, थुप्देन भुटिया, धीरज राई र स्वरूपराज आचार्यले स्वर दिएका थिए।‘मनका कुरा’ एल्बममा समावेश रामकृष्ण ढकालको स्वरमा रहेको ‘मनले चाहेँ मनमा राखेँ’ र कर्णदासको स्वरमा रहेको ‘झरी जाने शीतझैँ’ गीत लोकप्रिय बनेका थिए। बर्देवाको अन्तिम बिदाइका क्रममा कर्णदासको स्वरमा रहेको ‘झरी जाने शीतझैँ’ गीत प्रस्तुत गर्दै उनलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो।

बर्देवाले निर्माण गरेको इटहरीको परिचय दिने गीत ‘इटहरी हो इटहरी’ ले उनलाई छुट्टै पहिचान दिलाएको थियो। इटहरीको सामाजिक, सांस्कृतिक तथा सांगीतिक परिवेशलाई नजिकबाट नियालेका उनले गीतमार्फत स्थानीय भूगोल र समाजलाई अभिव्यक्त गरेका थिए। त्यस्तै, उनले लेखेको ‘मेरो धरान’ गीतले धरानको सामाजिक तथा सांस्कृतिक कथालाई प्रस्तुत गरेको छ।गायक विक्रम धमलाले भाइसन बर्देवाले आफूलाई विभिन्न क्षेत्रमा सहयोग गरेको स्मरण गर्दै उनीसँग सांगीतिक सहकार्यको समेत तयारी भइरहेको बताएका छन्। बर्देवाको निधनको खबरले आफू मात्र नभई पूरै इटहरीले शून्यता महसुस गरेको उनले बताए।धमलाले बर्देवाको योगदानलाई जीवित छँदै पर्याप्त रूपमा कदर गर्न नसकिएकोमा दुःख व्यक्त गरे। संगीत साधना प्रतिष्ठानले झन्डा ओढाएर गरेको सम्मान सकारात्मक भए पनि स्रष्टाको योगदानलाई उनीहरू जीवित रहँदै पहिचान गर्ने, सम्मान गर्ने र उनीहरूको सिर्जनाबारे खोजी गर्ने संस्कार विकास गर्नुपर्ने उनको भनाइ छ।भाइसन बर्देवाको निधनसँगै इटहरीले व्यवसायसँगै गीत–संगीत, साहित्य र सामाजिक क्षेत्रमा सक्रिय एक सिर्जनशील व्यक्तित्व गुमाएको छ। उनका गीत, सिर्जना र स्थानीय कला–संस्कृतिप्रतिको योगदान भने इटहरीको सांगीतिक तथा साहित्यिक इतिहासमा स्मरणीय रहनेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार