• २०८३ असोज १३ गते मङ्गलवार
  • Preeti To Unicode

पार्टी एकतामा जोड दिँदै विद्यादेवी भण्डारीले भनिन्– ‘अब राष्ट्र र जनताको सेवामा समर्पित हुन्छु’

पार्टी एकतामा जोड दिँदै विद्यादेवी भण्डारीले भनिन्– ‘अब राष्ट्र र जनताको सेवामा समर्पित हुन्छु’

बुटवल । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले अब आफू पार्टी, जनता र राष्ट्रको सेवामा समर्पित हुने बताएकी छन्। एमालेले असोज ८ गते भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेपछि रुपन्देहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीको निर्णय स्वीकार गर्दै आगामी दिनमा पार्टीलाई थप ऊर्जा दिने बताइन्। उक्त निर्णयलाई एमाले केन्द्रीय कमिटीले समेत अनुमोदन गरेको थियो।भण्डारीले राष्ट्रपति पदमा पुगिसकेकाले अब आफू पदको पछाडि लाग्नुपर्ने अवस्था नरहेको बताइन्। उनले भनिन्, ‘अब यहाँभन्दा माथि जाने ठाउँ छैन। राष्ट्रपति भइसकेँ, अब कहाँ जाने? पदको हिसाबले माथि पुगेँ। अब जाने भनेको स्वर्ग हो।’ तर राष्ट्र र जनताका लागि काम गर्ने इच्छा अझै रहेको भन्दै उनले यही पार्टीमा रहेर सक्रिय रहने बताइन्।

बाल्यकालदेखि नै एमालेमा आबद्ध भएर सामाजिक सेवा तथा सामाजिक कुरीतिविरुद्धका अभियानमा सहभागी भएको स्मरण गर्दै भण्डारीले आफूले पार्टी, समाज र राष्ट्रका लागि निरन्तर काम गर्दै आएको बताइन्। विगतको वाम आन्दोलनका क्रममा विभिन्न समस्या भोगे पनि आफ्नो राजनीतिक आस्था परिवर्तन नगरेको उल्लेख गर्दै उनले पार्टी नेतृत्वबाट हुने गल्ती र कमजोरीलाई स्वीकार गरी त्यसलाई सच्याउँदै अघि बढ्नुपर्ने धारणा राखिन्।भण्डारीले विगतमा भएका पार्टी विभाजनले एमालेसहित समग्र वाम आन्दोलनमा असर परेको बताइन्। २०७४ सालको निर्वाचनमा वाम एकता र सहकार्यका कारण राम्रो परिणाम आएको उल्लेख गर्दै उनले त्यसपछि एकता भङ्ग हुँदा पार्टी विभाजनसँगै ठूलो राजनीतिक क्षति भएको स्मरण गराइन्। ‘नेतृत्वको गल्तीको असर तलसम्म पर्छ। त्यसैले हामीभित्र रहेका कमी–कमजोरी सुधारेर अघि बढ्नुपर्छ,’ उनले भनिन्।नेपालमा वाम आन्दोलन बलियो भएको हेर्न नचाहने तत्त्व पनि रहेको उल्लेख गर्दै भण्डारीले जनताको राजनीतिक आस्था जबर्जस्ती परिवर्तन गर्न नसकिने बताइन्। जनताको विश्वास जितेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले मूलधारका राजनीतिक दलहरू विभाजन हुन नहुने धारणा राखिन्। पार्टी विभाजनको असर समग्र राजनीतिक क्षेत्रमा पर्ने भन्दै उनले पार्टी, जिल्ला र राष्ट्रको आवश्यकतालाई आधार बनाएर एकता कायम गर्नुपर्ने बताइन्।

एउटा निर्वाचनको परिणामलाई आधार बनाएर निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै भण्डारीले एमाले नै वाम आन्दोलन, देशभक्तिको आन्दोलन र सामाजिक न्यायको विकल्प भएको दाबी गरिन्। ‘म यही पार्टीबाट हुर्किएर देशको राष्ट्रपतिसम्म भएँ। अब यही आन्दोलनलाई बलियो बनाउने मेरो चाहना हो,’ उनले भनिन्।राष्ट्रिय विषयमा पनि एकताबद्ध हुनुपर्नेमा जोड दिँदै भण्डारीले राष्ट्रिय स्वाभिमान जोगाउने र नेपाली जनताको जीवनस्तर सुधार गर्ने काममा केन्द्रित हुनुपर्ने बताइन्। ‘हाम्रो राष्ट्रिय स्वाभिमान जोगाउने र नेपाली जनताको जीवनस्तर सुधार गर्ने हो। पार्टीमा लागेर गर्ने त्यही हो। पार्टीमा लागेर अरू के गर्ने हो र?’ उनले प्रश्न गरिन्।पार्टी जीवन परिवारभन्दा फराकिलो हुने उल्लेख गर्दै भण्डारीले पार्टीमा पुस्ताबीचको ‘जेनेरेसन ग्याप’ हुन नदिई सबै पुस्तालाई जोडेर अघि बढाउनुपर्ने बताइन्। सामाजिक शिक्षाको मर्म पनि यही रहेको उल्लेख गर्दै उनले शान्तिपूर्ण परिवर्तनका लागि लामो यात्रा गर्नुपर्ने र त्यसका लागि निरन्तर अघि बढिरहनुपर्ने धारणा राखिन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार