काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बागमती प्रदेश अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन्। बागमती प्रदेश अध्यक्ष बन्न काठमाडौंका प्रकाश रिमाल, नुवाकोटका जनकराज पाठक र भक्तपुरका रविन्द्र प्रताप शाहले इच्छा देखाएका हुन्।राप्रपाका एक नेताका अनुसार प्रकाश रिमाल पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पक्षबाट आकांक्षी बनेका हुन् भने जनकराज पाठक र रविन्द्र प्रताप शाह लिङ्देनइतर पक्षबाट आकांक्षी रहेका छन्। लिङ्देनइतर पक्षले भने दुई आकांक्षीमध्ये एक जनालाई साझा उम्मेदवार बनाउने गरी सहमतिको प्रयास गरिरहेको छ।राप्रपाले आगामी असोज २१ गते सातवटै प्रदेशको अधिवेशन एकैदिन गर्ने तयारी गरेको छ। जिल्ला अधिवेशन सम्पन्न गर्दै प्रदेश अधिवेशनको तयारीमा जुटेको पार्टीले बागमतीसहित सातै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधिसमेत खटाइसकेको छ।बागमती प्रदेश अधिवेशनका लागि राप्रपाको केन्द्रीय निर्वाचन समितिका सदस्य प्रा.डा. जयन्तनाथ खनाललाई केन्द्रीय निर्वाचन प्रतिनिधि तोकिएको छ। प्रदेश अधिवेशनसँगै पार्टीले संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउने तयारी गरेको छ।यसैबीच राप्रपाले आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। प्रदेश अधिवेशनपछि पार्टीको केन्द्रीय महाधिवेशनको तयारी अघि बढ्नेछ।