सचिव गोपालप्रसाद सिग्देलले लिए अनिवार्य अवकाश

सचिव गोपालप्रसाद सिग्देलले लिए अनिवार्य अवकाश

काठमाडौँ । नेपाल सरकारका सचिव गोपालप्रसाद सिग्देलले निजामती सेवाबाट अनिवार्य अवकाश लिएका छन्। पूर्वाधार विकास मन्त्रालयमा कार्यरत सिग्देलले सचिव पदमा पाँच वर्षे कार्यकाल पूरा गर्दै २०८३ साल असोज १३ गते मंगलबारदेखि अवकाश लिएका हुन्।उनको बिदाइका अवसरमा पूर्वाधार विकास मन्त्रालयमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा मन्त्री सुनिल लम्सालसहित मन्त्रालयका उच्च अधिकारी तथा कर्मचारीको उपस्थिति थियो। सो अवसरमा मन्त्री लम्सालले सिग्देलले पूर्वाधार विकासको क्षेत्रमा पुर्‍याएको योगदान तथा राष्ट्रसेवामा देखाएको निष्ठाको प्रशंसा गर्दै अवकाशपछिको जीवनका लागि शुभकामना व्यक्त गरे।तनहुँमा जन्मिएका सिग्देलले निजामती सेवामा करिब २८ वर्ष पाँच महिना सेवा गरेका छन्। पुल्चोक इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा जर्मनीबाट जलस्रोत विषयमा स्नातकोत्तर गरेका उनले विसं २०५५ साल वैशाख १५ गते सिँचाइ विभागमा इन्जिनियरका रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए।निजामती सेवाका क्रममा उपसचिव (सि.डि.ई.) र सहसचिव हुँदै विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका सिग्देल विसं २०७८ साल असोज १४ गते सचिव पदमा बढुवा भएका थिए। उनले सडक विभागको महानिर्देशकका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए।त्यसैगरी उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, जल तथा ऊर्जा आयोग र पूर्वाधार विकास मन्त्रालयमा सचिवका रूपमा काम गरेका थिए। करिब तीन दशक लामो निजामती सेवापछि सिग्देलले सरकारी सेवाबाट अवकाश लिएका हुन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार