बेनी–मालढुंगा–कोरला सडक सञ्चालनका लागि मर्मत तथा पुनःनिर्माण तीव्र

बेनी–मालढुंगा–कोरला सडक सञ्चालनका लागि मर्मत तथा पुनःनिर्माण तीव्र

काठमाडौँ । बाढीपहिरोका कारण अवरुद्ध बेनी–मालढुंगा–कोरला सडकखण्डमा यातायात सञ्चालन गर्न सडक विभागले मर्मत तथा पुनःनिर्माणको काम तीव्र बनाएको छ। विभागका अनुसार घासा–कोरला सडकखण्डमा पहिरो हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ भने मुस्ताङ–बेनी सडकखण्डका विभिन्न स्थानमा काटिएको सडकको ब्याक कटिङ तथा टेवा पर्खाल निर्माण भइरहेको छ। तातोपानी क्षेत्रमा सडकको ब्याक कटिङ तथा टेवा पर्खाल निर्माणको काम पूरा गरी आज बेलुकीसम्म यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ। त्यस्तै, पोखरेबजार पुलको एप्रोच निर्माण भोलि बेलुकीसम्म सम्पन्न गरी यातायात सञ्चालन गर्ने तयारी भइरहेको विभागले जनाएको छ। रघुघाट जलविद्युत् आयोजना क्षेत्रमा काटिएको सडकमा पनि ब्याक कटिङ तथा टेवा पर्खाल निर्माण भइरहेको छ भने मालढुंगा–बेनी सडकखण्डको केराबारीस्थित पहिरो क्षेत्रमा समेत सडक पुनःनिर्माणको काम भइरहेको विभागले जनाएको छ। विभागले प्रभावित सडकखण्डमा आवश्यक संरचना निर्माण तथा पहिरो हटाउने कामलाई तीव्रता दिँदै यातायात यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार